हेटौंडाः गुणस्तरीय शिक्षा र छरितो स्वास्थ्य सेवामा नागरिक समाजको भूमिका विषयक अन्तरक्रिया हेटौंडामा भएको छ । नागरिक समाज मञ्च मकवानपुर र डेभलप्मेन्ट एक्स्चेन्ज सेन्टर मकवानपुरको संयुक्त आयोजनामा मंगलबार अन्तरक्रिया भएको हो । अन्तरक्रियामा सहभागीले शिक्षा र स्वास्थ्य जस्तो आधारभूत सेवाको क्षेत्रमा नागरिक समाजको नियमित र सन्तुलित निगरानी एवम् खबरदारी हुनुपर्नेमा सहभागीले जोड दिएका छन् ।
नागरिक समाज मञ्च मकवानपुरकी संयोजक रमिला सापकोटाको अध्यक्षतामा भएको अन्तरक्रियामा सहभागीले नागरिक समाजको रुपमा स्थापित हुन मौसमी मुद्दामा मात्रै उपस्थिति नजनाई नागरिकका दैनिक क्रियाकलापमा नियमित रुपमा आवाज उठाउनुपर्नेमा जोड दिएका थिए । अन्तरक्रियामा अधिवक्ता मनप्रसाद भट्टराईले शिक्षा ऐनले महत्वपूर्ण व्यवस्था गरे पनि व्यवहारमा लागु हुन नसकेको बताउनुभयो । विद्यालयको स्थापना, विद्यालयमा अभिभावकको भूमिका, निशूल्क शिक्षाका बारेमा महत्वपूर्ण व्यवस्था गरे पनि त्यसलाई कार्यान्वयन गर्न सरकारले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न नसकेको अधिवक्ता भट्टराईको भनाइ थियो ।
अन्तरक्रियामा सिविन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीले कोभिडकालमा विद्यार्थीले बीचमै पढाई छाड्ने दर उच्च रहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । स्वास्थ्य सेवामा पनि निजी स्वास्थ्य संस्थाले बीमा कार्यक्रममा सहभागी नागरिकको उपचारमा बेवास्ता गर्ने गरेको ज्ञवालीले औंल्याउनुभएको छ । नेपाल राष्ट्रिय अभिभावक संघ मकवानपुरका निवर्तमान अध्यक्ष साधुराम चौलागाईले आफ्नो लगानी र सहभागिता रहेको निजी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे पनि कोभिडकालमा विद्यार्थीलाई ५ महिनाको शिक्षण शूल्क मिनाहा गरिदिएको र शिक्षकहरुसँग सहमतिमा आंशिक तलब वितरण गरेको बताउनुभयो ।
अन्तरक्रियामा नागरिक समाज मञ्च मकवानपुरकी संयोजक रमिला सापकोटाले मकवानपुरमा निजी विद्यालयहरुले लुट मच्चाइरहेको बताउनुभयो । सरकारी स्वास्थ्य संस्थाले पनि नागरिकलाई सेवा प्रदान गर्ने सन्दर्भमा जिम्मेवार हुन नसकेको सापकोटाको भनाइ थियो । नागरिक समाज मञ्च मकवानपुर र डेभलप्मेन्ट एक्स्चेन्ज सेन्टरले सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रको अनुगमन समेत गर्ने निर्णय गरेको छ ।