हेटौंडाः बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्यसहित मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले शुक्रबार वडा नम्बर ३, ५ र ६ (साविक आमभञ्ज्याङ गाविस) मा एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । आगामी चैत भित्र नै तीन वटा वडालाई बालमैत्री क्षेत्र घोषणा गर्ने लक्ष्यसहित सरोकारवालासँग अन्तरक्रियाको आयोजना गरिएको हो । गाउँपालिकाका ८ वटै वडालाई बालमैत्री घोषणा गरेर २०७८ साल मंसिरसम्ममा गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य राखिएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जीतबहादुर घिमिरेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतिथ्यमा भएको अभिमुखीकरणमा ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरे र ६ नम्बर वडा अध्यक्ष टिकाप्रसाद दाहाल, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीको पनि उपस्थिति रहेको थियो । अभिमुखीकरणमा बाल बचाउका सूचकहरु, बाल संरक्षणका सूचक, बालविकास लक्ष्यका सूचक, बालविकासका सहभागिताको लक्ष्यका बारेमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका वद्रि वाग्लेले प्रस्तुतीकरण गर्नुभएको थियो ।
यस्तै गाउँपालिकाको शिक्षा प्रमुख रामबहादुर घलान र स्वास्थ्य प्रमुख ध्रुव लामिछानेले पालिकाको स्वास्थ्य र शिक्षामा बालबालिकाको पहूँचका बारेमा जानकारी गराउनुभएको थियो । अभिमुखीकरणमा वडा सचिव, विद्यालयका शिक्षक, सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।