हेटौंडाः हेटौंडा–७, नागस्वतीस्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हेटौंडा बजारमा पनि शाखा सञ्चालन गर्ने भएको छ । शनिबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले सहकारीले बजारक्षेत्रमा पनि शाखा सञ्चालन गर्ने निर्णय गरेको हो । हेटौंडा–७, नागस्वतीस्थित सहकारीले हेटौंडा–८, कमाने र हेटौंडा–१६, हटियामा पनि सेवा केन्द्र स्थापना गरेर सेयर सदस्यलाई सेवा प्रदान गरिरहेको छ । सहकारीले सेयर सदस्यको सहजताका लागि नागस्वतीस्थित कार्यालयमा एटीएम सेवा पनि सञ्चालन गर्ने जनाएको छ ।
सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेतको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको साधारणसभामा हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा अध्यक्ष राजन थापा, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडकी अध्यक्ष कल्पना श्रेष्ठको पनि सहभागिता रहेको थियो । साधारणसभामा सहकारीका अध्यक्ष ईन्द्रबहादुर बस्नेतले सहकारीका सेयर सदस्यलाई उत्पादनमूलक उद्यममा सहभागी गराई उनीहरुले उत्पादन गरेका बस्तु सेयर सदस्यहरुबीच नै खरिदबिक्री गराउन सहकारीले खरिदविक्री केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ ।
पाँच हजार एक सय २७ जना सेयर सदस्य रहेको सहकारीको सेयर पुँजी तीन करोड ६५ लाख रहेको छ । यस्तै सहकारीले ३७ करोड रुपैयाँ बचत संकलन गरेको छ । साधारणसभाको अवसरमा सहकारीले ज्येष्ठ सदस्य, असल ऋणी, असल बचतकर्ता, बालबचतकर्ता र पत्रकारलाई सम्मान गरेको छ । मंसिर २६ गतेबाट सुरु भएको साधारणसभा शनिबार प्रतिनिधिमूलक सहभागितामा समापन कार्यक्रम गरिएको थियो । समापनको अवसरमा सहभागी सेयर सदस्यहरुले सहकारीका सञ्चालकलाई सल्लाह, सुझाव समेत दिएका थिए ।