शिलालेख अनावरण गरेर शैक्षिक भवनको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय प्राविधिक विद्यालयको नयाँ शैक्षिक भवनको उद्घाटन गरिएको छ । ३९ औं अभिभावक भेलाको अवसरमा शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । १८ महिने कृषि तथा जेटिए, ३ वर्षे इलेक्ट्रिकल डिप्लोमा, ३ वर्षे भेटेरिनरी डिप्लोमा, डिप्लोमा इन प्लान्ट साइन्स विषयको अध्यापन भइरहेको जनप्रिय माविमा देशका २५ जिल्लाका ४ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले आफ्नै कोषको करिब ४ करोड रुपैयाँ लागतमा २४ कोठे भवन निर्माण गरेको हो ।

भवन उद्घाटनपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले समुदायको अग्रसरतामा जनप्रिय नमूना विद्यालय बनेको बताउनुभयो । अभिभावक, शिक्षक, कर्मचारी, विद्यार्थीको अग्रसरता र मिहिनेतले नै जनप्रिय राम्रो विद्यालय बनेको मुख्यमन्त्री पौडेलको भनाइ थियो । विद्यालयमा पढाउने भन्दा पनि सिकाउनुपर्नेमा शिक्षकलाई ध्यान दिन मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो । आफू शिक्षक भएको अनुभव सुनाउनुहुँदै उहाँले शिक्षण पद्दतिलाई सुधार गर्नुर्ने स्पष्ट पार्नुभयो । नयाँ पद्दति र प्रविधिको प्रयोग गरेर प्रभावकारी रुपमा विद्यार्थीलाई सिकाउन शिक्षक सक्षम हुनुपर्नेमा मुख्यमन्त्री पौडेलले जोड दिनुभयो । जनप्रिय मावि परिसरमा स्थापना गरिएको आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा पनि मुख्यमन्त्री पौडेलले अनावरण गर्नुभएको छ । स्वेच्छिक अवकास लिनुभएका शिक्षक रत्नहरि अधिकारीले भानुभक्त आचार्यको प्रतिमा स्थापना गरिदिनुभएको हो ।

नवनिर्मित भवनमा प्रयोगशाला र प्राविधिक विषयको पठनपाठन हुने विद्यालयका प्रधानाध्यापक नमराज अर्यालले जानकारी दिनुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ चौलागाईले कोरोना महामारीकै बेला विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउन गणित, सामाजिक र अंग्रेजी विषयको प्रयोगशाला निर्माण गरिएको जानकारी दिनुभयो । लकडाउनको समयमा पनि रचनात्मक कार्य गरेर विद्यालयले शिक्षक, विद्यार्थी, अभिभावकबीच सामिप्यता कायम गर्न सफल भएको अध्यक्ष चौलागाईले जानकारी दिनुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, १७ नम्बर वडा अध्यक्ष भैरवबहादुर राईको पनि उपस्थिति रहेको थियो ।