हेटौंडाः मानवसेवा आश्रमले आज दुई जना बङ्गलादेशी नागरिकको बिदाई गरेको छ । मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा आज एक कार्यक्रमको आयोजना गरेर बङ्गलादेशी नागरिकहरु मोहम्मद बाबुल र ममिना बेगमलाई बिदाई गरिएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, हेटौंडा–९ का वडाअध्यक्ष लक्ष्मणप्रसाद भण्डारी लगायत हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले उनीहरुलाई बिदाई गर्नुभएको हो ।

बिदाई कार्यक्रममा बोल्नुहुँदै जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले हामी सबैले मानवियताको काम गर्नुपर्ने बताउनुभयो । मानवसेवा आश्रमले गरेको उद्दारका कारण आज बिदेशीको पनि परिवारसँग पुनर्मिलन हुन लागेकोमा खुशि व्यक्त गर्दै आफ्नो तहबाट सकेको आश्रमलाई सहयोग गर्ने उहाँले बताउनुभयो ।

यस्तै मेयर महतले पनि सबै मिलेर मानवको सेवा गर्ने भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । मानवसेवा तथा राष्ट्रको सेवामा सबै नागरिकले टेवा पुर्‍याउन उहाँले आग्रह गर्नुभयो । विगत ५ वर्षदेखि मानव सेवा आश्रममा बस्दै आएका उनीहरुलाई मानव सेवा आश्रमले यही पुस ८ गते फ्लाइटमार्फत बङ्गलादेशमै पुगेर उनीहरुको पारिवारिक पुनर्मिलन गराउने तयारी गरेको छ ।