हेटौंडाः हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले नगरमा भएको विद्यालयहरुको शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यालयका शिक्षक तथा जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार हेटौंडामा नेपालमा शिक्षाको ढाँचा तथा संघियातामा कार्यान्वयन विषयमा भएको प्रस्तुतपछि मेयर महतले नगरमा रहेको सामुदायिक तथा निजि विद्यालयहरुले शिक्षाको गुणस्तर कायम गर्नुपर्ने बताउनुभएको हो ।
आफु शिक्षा क्षेत्रबाट नआएको भएतापनि शिक्षा सम्बन्धी चुनौती, कार्यान्वयन गर्ने पाटोमा बहस तथा छलफल गर्न सकिने मेयर महतले बताउनुभयो । यस्तै उहाँले हेटौंडा उपमहानगरभित्रका सामुदायिक विद्यालयबाट पाउने शिक्षालाई गुणस्तरिय बनाउन विद्यालयक प्रधानाध्यापक तथा शिक्षकहरुलाई जोड दिन आग्रह गर्नुभएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको आयोजनामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव डा. हरिप्रसाद लम्सालले नेपालको ढाँचा संघियतामा शिक्षा गभर्नेन्स विषयमा प्रस्तुती गर्नुभएको थियो । उहाँले संघीयतामा भएको शिक्षा पाउन अझै केही समय लाग्ने भन्दै तिनै तहका सरकारबिच समन्वय हुन जरुरी रहेको बताउनुभयो ।
यस्तै शिक्षामा भएको कार्यक्रमहरु कार्यान्वयन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै अहिलेको अवस्थामा भएका स्रोत र पुँजिलाई उपयोग गरेर गर्न सक्ने कामहरु गर्दै जानुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले आफ्नो तहमा भएका निजि विद्यालय र सामुदायिक विद्यालयहरु मर्ज गर्न सक्ने बारे पनि छलफल गर्न सकिने बताउनुभयो । यस्तै सरकारले पनि शिक्षामा लगानी गर्न सक्ने व्यक्तिहरुलाई प्रमोट गरेर लाभ लिन सक्ने उहाँले बताउनुभयो । सचिव लम्सालले शिक्षासम्बन्धी केही गर्न नियत, नीति र गति तिनै चिज स्वच्छ हुनुपर्ने बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख लिलानाथ गौतमको सभाअध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा १२ का वडाअध्यक्ष ललित घलान, ६ नम्बर वडाअध्यक्ष अर्जुन चौलागाई लगायत नगरका जनप्रतिनिधि सहित निजी तथा सामुदायिक विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।