![Cricket3](https://samriddhasamaj.com/wp-content/uploads/2020/12/Cricket3-696x392.jpg)
हेटौंडाः क्रिकेट खेलका लागि नेपालका प्रमुख प्रशिक्षक जगत टमाटाले बन्द प्रशिक्षणमा रहेका मकवानपुर जिल्लाका क्रिकेट खेलाडीलाई दुइदिने प्रेरक प्रशिक्षण प्रदान गर्नुभएको छ । गौतम बुद्ध कप क्रिकेट प्रतियोगिताको समापनका लागि चितवन आइपुग्नु भएका राष्ट्रिय प्रमुख प्रशिक्षक टमाटाले बुधबार र बिहीबार दुईदिन मकवानपुरका क्रिकेट खेलाडीलाई प्रेरक प्रशिक्षण प्रदान गर्नुभएको हो ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/12/Cricket.jpg)
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि मंसिर २४ गतेदेखि बन्द प्रशिक्षणमा रहेका मकवानपुरका २० जना खेलाडीलाई राष्ट्रिय प्रमुख प्रशिक्षक टमाटाले क्रिकेट खेलको व्याटिङ, बलिङ, फिल्डिङ तथा क्याचिङ बारे प्रशिक्षण प्रदान गर्नुभएको मकवानपुर जिल्लाको क्रिकेट टिमका प्रशिक्षक सञ्जय महर्जनले जानकारी दिनुभएको छ । प्रधानमन्त्री कपका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीको मनोबल बढाउन राष्ट्रिय प्रमुख प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने अपेक्षासहित मकवानपुर क्रिकेट संघले राष्ट्रिय टिमका प्रमुख प्रशिक्षकलाई हेटौंडा बोलाएको महर्जनको भनाइ छ । मकवानपुर क्रिकेट टिमको बन्द प्रशिक्षण हेटौंडाको हुप्रचौरमा दैनिक बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म भइरहेको छ ।
![](https://samriddhasamaj.com/wp-content/uploads/2020/12/Cricket2.jpg)
राष्ट्रिय प्रशिक्षकलाई बुधबार मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य करण महत्रा, नेपाल क्रिकेट संघको बागमती प्रदेश समितिका उपाध्यक्ष प्रेम क्षेत्री, मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले स्वागत तथा सम्मान गर्नुभएको थियो । प्रेरक प्रशिक्षण सकाएर प्रशिक्षक टमाटा बिहीबार बारा जिल्लाको सिमराबाट हवाईमार्ग हुँदै काठमाडौं फर्कनु भएको छ ।