हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले दिगो विकास हुने खालका विकास निर्माणका कामहरु गर्नुपर्ने बताउनुभएको छ । उहाँले भाषण गर्दा दिगो विकास गर्ने भन्दै हिड्ने तर काम सुरु गर्दा ध्यान नदिएर कामचलाउका लागि मात्रै काम गर्ने गरेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले गरिब, सिमान्नकृत नागरिकलाई माथि उकास्ने खालका कामहरु जबसम्म गर्न सकिन्न तबसम्म मानव विकास नहुने भन्दै उहाँले भन्नुभयो,“जनताको जिवनस्तर उकास्ने खालको कामहरु गर्न सुरु गर्नुपर्छ ।”
बुधबार विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२० को बामगती प्रदेशमा जुमबाट सार्वजनिक गर्नुहुँदै मुख्यमन्त्री पौडेलले मानव विकासको सुचकांक थोरै बढेपनि गरिब र सिमान्तकृत जनताको जिवनस्तरमा खासै परिवर्तन नआएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले विकास निर्माणका कामहरु गर्दा वातवारणीय प्रभावलाई मध्यनजर नगरी काम भइरहेको बताउनुभयो । वातावरणीय प्रभावको मुल्यांकन गरेर काम गर्नुपर्ने भन्दै विकास भन्दा पनि विनाश हुन सक्ने तर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री डोरमणि पौडेलले अहिले कामचालाउ गरी विकासका कामहरु गरिएको भन्दै अब विकास निर्माणका कामहरु मोडेल परिवर्तन गरेर नयाँ ढाँचा र नयाँ पद्धतिबाट दिगो हुने खालको गर्नुपर्नेमा जोड दिनुभयो । मानव विकास सुचकांक प्रतिवेदनले नेपाल यो वर्ष पाँच स्थान सुधार गर्दै १ सय ४२ स्थानमा उक्लिएको देखाएको छ । अघिल्लो वर्ष नेपाल १४७ औँ स्थानमा थियो । १ सय ८९ देशमध्ये नेपाल यो वर्ष १४२ औं स्थानमा देखाएको छ । यस्तै नेपाल सार्क राष्ट्रको छैठौं स्थानमा रहेको छ ।
प्रदेश नीति तथा योजना आयोग, कृषि तथा वन विश्वविद्यालय र यूएनडीपीको संयुक्त आयोजनामा बागमती प्रदेशमा विश्वव्यापि मानव विकास प्रतिवेदन सार्वजनिक भएको हो । कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयका सचिव राधिका अर्यालले नेपालको अब देशको ७ सातै प्रदेशको मानव विकास सुचकांक कति हो अध्ययन तथा तथ्यांक संकलन हुनुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा प्रादेशिक सहितको जानकारी हुने गरी तथ्यांक निकालेर योगदान गर्नपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सिमान्तकृत, गरिब, तथा सबै जातजातिहरुमा समानता ल्याउनुपर्ने भन्दै विकास निर्माणको मोडलमा नयाँपन ल्याउनुपर्ने बताउनुभयो । बागमती प्रदेशमा अत्याधिक प्राकृतिक स्रोत र सधान भएको भन्दै यसको सहि तरिकाले प्रयोग गरेर अगाढि बढ्नुपर्ने बताउनुभयो । यस्तै बागमती प्रदेशमा पहाडि क्षेत्र भूक्षय र चुरेक्षेत्र जोखिममा रहेको भन्दै तिनै तहका संघ, प्रदेश र स्थानीय तहहरु मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डण्डु घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोग बागमती प्रदेशका कार्यबाहक अध्यक्ष श्याम बस्नेत, सदस्य रामचन्द्र ढकाल, पनौति नगरपालिकाका मेयर भिम न्यौपाने, युएनडीपीका धर्मा स्वानर्कार, डा. सिन्धु ढुंगाना लगायतको उपस्थितिमा मानव विकास प्रतिवेदन सम्बन्धी सामूहिक छलफल समेत भएको थियो ।