रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेलसहित उद्घाटन कार्यक्रममा अतिथिहरु ।

हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली कांग्रेस र राजावादीहरु सरकारको विरोधमा नभई कम्युनिष्ट सरकारले गरेको राम्रो काम देखेर आत्तिदै सडकमा उत्रिएको बताउनुभएको छ । शनिबार मकवानपुरको मनहरी गाउँपालिकामा पालिकास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले प्रमुख प्रतिपक्षी कांग्रेस र राजावादीको प्रदर्शनलाई सरकारको विरोधमा नभई सरकारको राम्रो कामबाट आत्तिएको नतिजाको रुपमा बुझ्न आग्रह गर्नुभएको छ ।

उहाँले नेपाल र नेपालीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने कार्य खेलकुदले नै गर्ने उल्लेख गर्नुहुँदै प्रदेश सरकार खेलकुदको विकासमा प्रतिवद्ध रहेको बताउनुभयो । तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना भइरहेको प्रस्तावित मदन भण्डारी क्षेत्रीय रंगशालाको पर्खाल निर्माण गर्न प्रदेश सरकारले बजेट उपलब्ध गराउने पनि मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसअघि प्रस्तावित क्षेत्रीय रंगशालाका लागि बागमती प्रदेश सरकारले ४० लाख रुपैयाँ बजेट उपलब्ध गराएको मनहरी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीले जानकारी दिनुभएको छ ।

शनिबारबाट सुरु भएको तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा ७ नम्बर वडाले विजयी सुरुवात गरेको छ । मनहरी गाउँपालिका – ७, रमौलीस्थित प्रस्तावित मदन भण्डारी क्षेत्रीय रंगशालामा शनिबार भएको उद्घाटन खेलमा वडा नम्बर ६ लाई २–० गोलअन्तरले पराजित गर्दै वडा नम्बर ७ ले विजयी सुरुवात गरेको हो । प्रतियोगितामा पालिकाका ९ वटै वडाको टिम सहभागी छ । प्रतियोगिताको फाइनल खेल पुस ४ गते हुनेछ । प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल प्राप्त गर्नेछ । प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिता आयोजनाका लागि सात लाख १७ हजार रुपैयाँ लागत अनुमान गरिएको र सबै खर्च गाउँपालिकाले नै उपलब्ध गराउने खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीले बताउनुभएको छ । अध्यक्ष कप प्रतियोगिताको उद्घाटनको अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सितेरियो कराँतेको काँतातर्फ स्वर्णपदक विजेता मनहरीका महसुस मोक्तानलाई २० हजार नगदसहित सम्मान गरिएको छ । स्वर्णपदक विजेता मोक्तान नेपाल प्रहरी क्लबबाट व्यावसायिक खेल खेलिरहेका छन् ।

प्रतियोगिताबाट पालिकाको टिम छनोट गरिने मनहरी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नवीन सुवेदीले बताउनुभएको छ । प्रतियोगिताको उद्घाटन मनहरी खेलकुद विकास समितिका अध्यक्ष सुवेदीको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगिताको उद्घाटन कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला विष्ट, वडा अध्यक्षहरु, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामाको पनि उपस्थिति रहेको थियो ।