हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पस अगाडि लायन्सले यात्रु प्रतिक्षालय निर्माण गर्ने भएको छ । यात्रु प्रतिक्षालय निर्माणका लागि बुधबार शिलान्यास गरिएको छ । लायन्स इन्टरनेशनल ३२५ बी २ का गभर्नर शम्भु नकर्मीले शिलान्यास गर्नुभएको हो ।
दुई लाख ३५ हजार रुपैयाँ लागत अनुमान गरिएको यात्रु प्रतिक्षालयको निर्माण कार्य एक महिनाभित्र सकिने बताइएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ अन्तर्गत रिजन १५ को जोन २९ का चेयरपर्सन निलम वैद्यको संयोजनमा प्रतिक्षालय निर्माण गरिन लागेको हो । आफ्नो जोन अन्तर्गतका चारवटा क्लबहरु लायन्स क्लब अफ हेटौंडा सिटी, लायन्स क्लब अफ हेटौंडा भुटनदेवी, लायन्स क्लब अफ हेटौंडा सूर्योदय र लायन्स क्लब अफ भुटनदेवी सेन्टेनियलसँगको सहकार्यमा जोन चेयरपर्सन वैद्यले प्रतिक्षालय निर्माण गर्न लागिएको हो ।
प्रतिक्षालय निर्माणका लागि मकवानपुर उद्योग वाणिज्य संघको महिला उद्यमी विकास समितिले ५२ हजार रुपैयाँ सहयोग गर्ने निश्चित भएको संयोजक वैद्यले जानकारी दिनुभयो । प्रतिक्षालयलाई लायन्स क्लबकै पूर्वअध्यक्ष निरज राज वैद्यको स्मृतिमा निर्माण गर्न लागिएको बताइएको छ ।