हेटौंडाः सरकारको विरोधमा नेपाली कांग्रेसले हेटौंडामा १० हजार मानिस उतार्ने जनाएको छ । सरकारले दमनकारी दूव्र्यवहार गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउँदै मंसिर २९ गते प्रदर्शनमा गर्ने जनाएको छ ।
कांग्रेस हेटौंडा उपमहानगरपालिका, तरुण विभाग, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको बुधबार बसेको छुट्टाछुट्टै बैठकले हेटौंडा उपमहानगरको विभिन्न १९ वडा, थाहानगर र ८ गाउँपालिकाबाट १० हजार मानिस हेटौंडामा उतारेर सरकार विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस नगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा बसेको नगर कार्यसमितिको बैठकले सरकार विरुद्ध आयोजना गर्ने प्रदर्शनको विषयमा छलफल गरेको हो ।
बैठकमा जिल्ला कार्यसमितिका उपसभापति विष्णुप्रसाद लामिछाने, सचिव आनन्द कठायत, सहसचिव रामबाबु बानियाँ, प्रवक्ता प्रदिप कोईराला, जिल्ला सदस्यहरु, प्रतिनिधिसभा क्षेत्रीय सभापति, प्रदेशसभा क्षेत्रीय सभापतिहरु, हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडा सभापतिहरु, वडाअध्यक्षहरु, स्थानीय निकाय निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरुको उपस्थिति रहेको थियो ।
त्यसैगरी कांग्रेसको तरुण विभाग, भातृ संगठनहरु नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले पनि बुधबारै जिल्ला पार्टी कार्यालयमा बैठक राखी विरोध प्रदर्शनमा जिल्लाको १० वटै स्थानीय तहबाट तरुण युवा र विद्यार्थीहरु हेटौंडामा हुने बृहत विरोध प्रदर्शनमा उपस्थित गराउने निर्णय गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिले ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।