हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडामा रगतको अभाव भएसँगै हेटौंडामा क्रियाशील लायन्स क्लबहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका छन् । बुधबार बिहान हेटौंडाको बुद्धचोकमा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् ।
मकवानपुर र हेटौँडामा क्रियाशिल रिजन १४ अन्तर्गत रहेको जोन २७ र २८ मातहतमा रहेका ९ वटा लायन्स क्लबले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि २ नेपाल डिस्ट्रिक्ट गभर्नर शम्भु नकर्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिस्ट्रिक सेक्रेटरी टासी डोल्मा तुम्बाहम्फे र वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टको विशिष्ट आतिथ्य रहेको थियो ।
रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालका अनुसार हेटौंडामै रगतको खपत बढेको र चितवनबाट पनि माग भएर आएका कारण रगतको अभाव भएको थियो । अब यही मंसिर २७ गते र ३० गते पनि रक्तदान कार्यक्रमको आयोजना हुँदैछ । बुधबार भएको कार्यक्रमबाट संकलित रगतले हालको अभाव केही टरेको उहाँको भनाइ छ । यस्तै क्रमशः रक्तदान भइराखे अभाव नहुने उहाँले बताउनुभयो ।