हेटौंडाः बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठान मकवानपुरले थाहा नगर–२ का ४ विद्यालयका ८ जना विद्यार्थीहरुलाई सहयोग गरेको छ ।
सोमबार एक कार्यक्रमका बिच प्रतिष्ठानले थाहा नगरका थाहादेवि आधारभूत विद्यालय, मत्स्यनारायण मावि, सरस्वती आधारभूत, मङ्गलेश्वर आधारभूत विद्यालयलाई एक एक थान घडि र प्रत्येक विद्यालयका दुईदुई जना विद्यार्थीहरुलाई पठनपाठनका लागि सहयोग स्वरुप कापि, कलम, झोला, पोशाक साथै व्यक्तिगत सरसफाइका लागि साबुन, मञ्जन, ब्रस र रुमाल लगायत खेलकुदका सामग्री वितरण गरेको छ ।
४ विद्यालयका ८ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिनुभयो । अमेरिकमा बस्नुहुने विजय बस्नेतले ३० हजार रुपैयाँ र समाजसेवाी अच्चुतम प्रसाद ढकालको १० हजार सहयोगमा प्रति विद्यार्थी ५ हजारको दरले सहयोग सामग्री हस्तान्तरण भएको अध्यक्ष कार्कीले बताउनुभयो ।
विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विजयकृष्ण बादेको प्रमुख आतिथ्यता रहेको थियो । प्रतिष्ठानले हरेक वर्ष जिल्लामा भलिबल प्रतियोगता गर्दै आएको थियो । यस वर्ष कोरोना महामारीको समयमा भलिबल प्रतियोगता हुन नसकेपछि विद्यार्थीहरुलाई सहयोग गरिएको प्रतिष्ठानका अध्यक्ष कार्कीको भनाइ छ । उहाँले अब आगामी वर्षदेखि हरेक वर्ष प्रतिष्ठानले भलिबल प्रतियोगितासँगै विद्यार्थीलाई सहयोग कार्यक्रम पनि गर्ने बताउनुभयो ।