हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले पालिकाको काम लक्ष्यअनुसार भए/नभएको विषयमा स्थानीय तहले मुल्याङ्कन गर्ने बेला भएको बताउनुभएको छ । आइतबार जिल्लाको मनहरी गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा भएका प्रगतिको अनुगमन तथा समिक्षाका क्रममा उहाँले स्थानीय तहहरुमा थुप्रै कामहरु भएको भएपनि आफूले निर्धारण गरेको लक्ष्यअनुसार काम भए/नभएको मुल्याङ्कन गर्न सुझाव दिनुभयो ।
प्रमुख खुलालले पैसा छरेर मात्र विकास नदेखिने भन्नुहुँदै योजनावद्ध विकासमा ध्यान दिनूपर्ने बताउनुभयो । लक्ष्य निर्धारण गरेर काम गर्न र त्यसको व्यवस्थित अभिलेखीकरण गर्न उहाँले आग्रह गर्नुभयो । प्रमुख खुलालले विभिन्न कारणले स्थानीय तहहरुले पूर्णरुपमा ढुक्क भएर काम गर्न नसकेको भन्दै आइपरेका समस्याहरु विस्तारै समाधान हुँदै जाने समेत बताउनुभयो । संघीयता कार्यान्वयनको चरणमा केहि समस्याका बाबजुद पनि स्थानीय तहहरुले थुप्रै काम गरिरहेको हुँदा कहिँकतै नचुक्ने गरी कामलाई निरन्तरता दिन उहाँले अनुरोध गर्नुभयो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले समग्ररुपमा लक्ष्य निर्धारण गरेरै काम भएको बताउनुभयो । उहाँले गाउँपालिकामा कृषि र पर्यटन क्षेत्रको प्रचुर सम्भावना रहेकाले उक्त क्षेत्रलाई विशेष महत्व दिएर काम गरेको बताउनुभयो । चालु आर्थिक वर्षमा गाउँपालिकाले करिब ७८ करोड ३८ लाख रुपैयाँ बराबरको बजेट निर्धारण गरेको मध्ये पहिलो चौमासिकसम्म करिब ११ प्रतिशत रकम खर्च भइसकेको समेत बताउनुभयो । कुल एक सय ८० योजनामध्ये कार्तिक मसान्तसम्ममा लागत अनुमान तयार पार्ने, उपभोक्ता समिति गठन गर्ने लगायतका काम सकेको साथै २४ वटा योजना सम्झौता भइसकेको र १० वटा योजनाको भुक्तानी समेत भईसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य देवराज रिमाल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायत गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिति थियो । जिल्ला समन्वय समितिले असारे विकासलाई अन्त्य गर्नु पर्छ भन्ने उद्देश्यका साथ समयमै योजना सम्झौता, उपभोक्ता समिति गठन, लागत अनुमान तयार पार्ने लगायतका काम भए/नभएको विषयमा अनुगमन तथा अन्तरक्रिया गर्ने क्रममा आइतबार मनहरी गाउँपालिकामा अनुगमन गरेको हो ।