हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा आदिकवि भानुभक्त आचार्यको प्रतिमा स्थापना गरिएको छ । प्राथमिक तहका शिक्षक रत्नहरि अधिकारीले स्वेच्छिक राजिनामा दिएर विद्यालयबाट बिदा हुने क्रममा सोमबार भानुभक्त आचार्यको प्रतिमा स्थापना गरिदिनुभएको हो ।
जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक नमराज अर्यालका अनुसार भानुभक्तको अर्धकदको प्रतिमा राख्नका लागि शिक्षक रत्नहरी अधिकारीले ६० हजार रुपैयाँ खर्च गर्नुभएको छ । हेटौंडा–५, पिप्ले निवासी अधिकारीले ३० वर्षभन्दा बढी समय शिक्षण पेशामा बिताउने क्रममा जनप्रिय माविमा १५ वर्ष शिक्षण गर्नुभएको थियो । नेपाली भाषा, साहित्यमा उल्लेखनीय योगदान गर्नुभएका भानुभक्तको प्रतिभा स्थापना गर्दा विद्यालयको शैक्षिक वातावरणको विकासमा पनि सहयोग पुग्ने अपेक्षा विद्यालयले राखेको छ ।