हेटौंडाः महिला अपहिल साइक्लिङ प्रतियोगितामा प्युठानकी हुमी बुढा मगर प्रथम हुनु भएको छ । १२ जना राष्ट्रिय महिला साइक्लिस्टको सहभागिता रहेको प्रतियोगितामा सहभागीलाई प्रोत्साहित गर्न १३ औं सागमा स्वर्ण विजेता लक्ष्मी मगर र सोनी गुरुङले अप्रतियोगीको रुपमा सहभागिता जनाउनुभएको थियो ।
कार्यक्रम संयोजक लिसेन बस्नेतका अनुसार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित सामरी पुलदेखि सुरु भएको अपहिल साइक्लिङ मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको गुम्बाडाँडामा पुगेर समापन भएको थियो । ७ किलोमिटर ८ सय मिटर दूरीको साइक्लिङ प्रतियोगितामा हुमीले ४८ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गर्दै प्रथम हुन सफल हुनुभएको हो ।
५१ मिनेट २९ सेकेन्डमा दूरी पार गर्दै पाँचथरकी इन्द्रकला नेम्वाङले दोस्रो स्थान हासिल गर्नु भएको छ भने ५४ मिनेट १० सेकेन्डमा सोलुखुम्बुकी मिङ्मा याङजीङ शेर्पाले निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गर्नुभयो । जेसीआई हेटौंडाको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको समन्वयमा भएको प्रतियोगिताको समापन कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रथम, दोस्रो र तेस्रो हुनुहुने खेलाडीहरुलाई क्रमशः १८ हजार, १२ हजार र ६ हजार नगद सहित मेडल, प्रमाणपत्र प्रदान गर्नुभयो ।