हेटौंडा–५ की स्वास्थ्य स्वयम्सेविका मीना चौरेललाई सम्मान गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाको आयोजनामा १७ औं राष्ट्रिय सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा “कोभिड–१९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्यः महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका अपरिहार्य” भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा कोभिड–१९ विषम् परिस्थितिमा पनि अहोरात्र खटिएको र स्वयंसेविकाले गरेको कार्य मूल्याङ्कन गर्दै नगर भित्रका ४ वटा वडाका स्वयंसेविकाहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेहरुमा हेटौंडा–५ की मीना चौरेल, हेटौंडा–१० की भागिरथी चालिसे, हेटौंडा–१४ की सेवी लामा र हेटौंडा–१५ की सविना थापालाई मेयर हरिबहादुर महतले सम्मानपत्र वितरण गर्नु भएको थियो । हेटौंडा उपमहानगरपालिकाले १९ वटा वडा कार्यालयका स्वास्थ्य स्वयंसेविकाहरु बीच अन्तरक्रिया कार्यक्रम गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १९ वटै वडामा खटिएका स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वयंसेविकाहरुबीच हाजिरीजवाफ समेत खेलाइएको थियो । हाजिरीजवाफमा प्रथम, द्वितीय र तृतीय हुनेलाई मेयर महतले नगद पुरस्कार वितरण गर्नु भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरे, सामाजिक विकास महाशाखा प्रमुख भिम तिमल्सिनाको उपस्थिती रहेको थियो ।