छनोट खेल खेल्दै ।

हेटौंडाः प्रधानमन्त्री कप २०७७ मा सहभागिताका लागि मकवानपुर क्रिकेट संघले १८ सदस्यीय टोली छनोट गरेको छ । नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा मकवानपुर क्रिकेट संघका उपाध्यक्ष करण महत्रा क्षेत्रीको संयोजकत्वमा बनेको छनोट समिति तथा अन्य सदस्यहरूको उपस्थितिमा शनिबार टिम छनोट गरिएको हो । बुधबार, बिहीबार र शुक्रबार तीन दिन छनोट खेलको आयोजना गरेर खेलाडी छनोट गरिएको हो ।

रामनरेश गिरिको कप्तानीमा रहेको टिममा उपकप्तान विशाल फुँयाल, विकेट किपर गौरव खड्का रहेका छन् । जिल्ला टिममा समीर चौलागाईले स्थान बनाएका छन् । यसअघिको जिल्ला टिमबाट सुमन सुनारलाई वैकल्पिकमा राख्दै छनोट समितिले समीरलाई अवसर दिएको छ । प्रदेश स्तरीय छनोट खेल्नका लागि जिल्ला टिममा शुभ कंशाकार, युविन बुढाथोकी, आकाश घिमिरे रमेश उपाध्याय, तक्षक सिम्खडा, रिजन ढकाल, समीर चौलागाई, असिम श्रेष्ठ, विपुल खनाल, सुवर्ण भट्ट, पियुष शर्मा टिममा छन् ।

वैकल्पिक खेलाडीको सूचिमा निखिल श्रेष्ठ, सुमन सुनार, गौरव क्षेत्री र साहिल दास रहेका छन् । छनोट समितिले टिम प्रशिक्षकमा सञ्जय महर्जन र टिम व्यस्थापकमा प्रेम क्षेत्रीलाई जिम्मा दिएको छ । १८ सदस्यीय टोलीलाई सोमबारदेखि बन्द प्रशिक्षणमा राखिने र प्रदेश छनोटको मिति तय भएपछि काठमाडौं जानेछ । सोमबारदेखि बन्द प्रशिक्षण सुरु गरिने छ । बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म हुप्रचौरमा बन्द प्रशिक्षण गराइने व्यवस्थापक प्रेम क्षेत्रीले जानकारी दिनुभएको छ ।