हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले हेटौंडा–१० मा बस टर्मिनलसहितको व्यावसायिक भवन निर्माणसम्बन्धी ठेक्का स्वीकृत गर्ने निर्णय गरेको छ । मंगलबार भएको बैठकले लागत अनुमानको ३२ प्रतिशत कम अर्थात ३४ करोड ४९ लाख ९७ हजार रुपैयाँमा ठेक्का कबोल गर्ने रसुवा–आशिष–बानियाँ जेभीको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभएको छ । कार्यपालिका बैठकले नगर विकास कोषसँग ऋण लिने सहमति समेत गरेको छ ।

मेयर महतका अनुसार उपमहानगरको आन्तरिक र बाह्य दुबै आयमा कमि आएसँगै उपमहानगरका ठूला योजना कार्यान्वयन गर्न बजेट अभाव हुने स्थिति आएपछि नगर विकास कोषसँग ऋण लिने सैद्धान्तिक निर्णय गरिएको हो । के कति ऋण लिने भन्ने विषय उपमहानगरका परियोजनाअनुसार रहने मेयर महतको भनाइ छ । नगर विकास कोषसँग लिइने ऋणले बस टर्मिनलसहित ठूला योजनामा लगानी गरिने मेयर महतले बताउनुभएको छ । यस्तै कार्यपालिकाको बैठकले वाइपास सडकको राजश्व असुलीका लागि ठेक्का आव्हान गर्ने निर्णय समेत गरेको छ ।

गत आर्थिक वर्ष २०७६/७७ र चालु आर्थिक वर्ष २०७७/७८ मा समेत अमानतमा राजश्व असुली गरिरहेको उपमहानगरले ठेक्कामार्फत राजश्व असुली गर्न लागेको उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिनुभएको छ । उपमहानगरले मूल्य अभिवृद्धि करबाहेक तीन करोड १३ लाख रुपैयाँ न्यूनतम् रकम निर्धारण गरेर ठेक्का आव्हान गर्ने निर्णय भएको सापकोटाले बताउनुभयो । कार्यपालिका बैठकले आदिवासी जनजाति उपमहानगर समितिलाई ५० हजार रुपैयाँ सहयोग गर्ने लगायतका विभिन्न निर्णय गरेको छ ।