हेटौंडाः प्रधामन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिताका लागि मकवानपुर जिल्लामा खेलाडी छनोटको कार्य सुरु भएको छ । ९ महिनाअघि नै प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रिया सुरु भए पनि कोरोना भाइरस संक्रमणको महामारीका कारण छनोट प्रक्रिया प्रभावित बनेको थियो । बुधबारबाट मकवानपुर जिल्ला क्रिकेट संघले छनोट खेल सुरु गरेको हो । प्रारम्भिक चरणमा छनोट भएका २५ जना खेलाडीबीच छनोट खेलको आयोजना गरिएको प्रशिक्षक सञ्जय महर्जनले जानकारी दिनुभएको छ ।
बुधबार, बिहीबार र शुक्रबार तीन दिन छनोट खेलको आयोजना गरेर मकवानपुर जिल्लाको टिम छनोटको प्रक्रिया सुरु गरिएको मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठले जानकारी दिनुभएको छ । बुधबार पहिलो दिन रामनरेश गिरि र विशाल फुयाँलको कप्तानीमा दुईवटा टिमबीच छनोट खेल सुरु भएको छ । हेटौंडाको हुप्रचौरमा टस जितेर विशाल फूँयालको टिमले व्याटिङ रोजेको छ ।
छनोट खेलको उद्घाटनमा मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ, केन्द्रीय सदस्य करण महत्रा, प्रशिक्षक सञ्जय महर्जन र सहायक प्रशिक्षक रविन गुरुङको पनि उपस्थिति रहेको थियो । नेपाल क्रिकेट संघका केन्द्रीय समिति सदस्य करण महत्राको संयोजकत्वमा जिल्ला टिम छनोट समिति गठन गरिएको छ । प्रदेशस्तरीय प्रतियोगितापछि सात वटै प्रदेशको टिमबीच आगामी पुस ११ गतेबाट प्रधामन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता हुनेछ ।