हेटौंडाः कक्षा १२ को वार्षिक परीक्षा मंगलबारबाट सकिएको छ । मंसिर ९ गतेबाट सुरु भएको परीक्षा मंगलबार सकिएको हो । मकवानपुर जिल्लाका ४१ वटा शैक्षिक संस्थाबाट नियमिततर्फ चार हजार चार सय ९७ र आंशिकतर्फ एक हजार आठ सय ७० जना विद्यार्थीले परीक्षा फारम भरेका थिए । कोभिड महामारीका कारण गत बैशाखमा हुनुपर्ने परीक्षा राष्ट्रिय परीक्षा बोर्डले आठ महिनापछि सञ्चालन गरेको थियो ।
स्वास्थ्य सुरक्षाका उपाय अपनाएर परीक्षा सञ्चालन गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको संरचनामा समेत परिवर्तन गरेको छ । परीक्षामा विद्यार्थीले डेढ घण्टामा सैद्धान्तिकतर्फको ४० प्रतिशत अंकका लागि परीक्षा दिएका छन् । सैद्धान्तिकतर्फको पूर्णाङ्कमध्ये ४० प्रतिशत अंक कक्षा ११ को प्राप्ताङ्कका आधारमा प्रदान गरिनेछ भने २० प्रतिशत अंक सम्बन्धित शैक्षिक संस्थाले विद्यार्थी मूल्यांकनका आधारमा प्रदान गर्नेछ ।
जिल्ला परीक्षा समन्वय समितिले परीक्षा केन्द्र निर्धारण गर्ने र परीक्षा केन्द्रको केन्द्राध्यक्ष तोक्ने निर्णय गरेको थियो । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सदस्य सचिव रहने समितिले मकवानपुरका ४१ वटै शैक्षिक संस्थाका प्रमुखलाई केन्द्राध्यक्ष तोकिएको थियो ।