सहयोग रकम हस्तान्तरण गरिँदै ।

हेटौंडाः बलात्कारपछि हत्या गरिएकी मकवानपुरको बागमती गाउँपालिका–७ की एक बालिकाको परिवारलाई मञ्जुश्री असहाय संरक्षण केन्द्र हेटौँडा शाखाले आर्थिक सहयोग गरेको छ । मञ्जुश्री असहाय संरक्षण केन्द्रका पदाधिकारीहरु बिहीबार पीडित परिवारको घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् ।

मंसिर ३ गते ४ वर्षीया बालिका मृत अवस्थामा भेटिएकी थिई । मकवानपुर प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा बालिकाको बलात्कारपछि हत्या भएको पाइएको र घटनामा संलग्न १६ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ समेत गरेको छ । पीडित परिवारले सहयोगको अपेक्षा गरेको जानकारी पछि मञ्जुश्री असहाय संरक्षण केन्द्रको हेटौँडा शाखाका सदस्यहरु मिलेर व्यक्तिगत रकम संकलन गरी सहयोग रकम हस्तान्तरण गरेको हो । मञ्जुश्री असहाय संरक्षण केन्द्रको केन्द्रीय संयोजक मञ्जु खाँडसहित हेटौंडा शाखा सदस्यहरु पीडित परिवारको घर पुगेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै केन्द्रीय संयोजक मञ्जु खाँडले दोषीलाई कडा कारवाही गराउन र पीडितलाई न्याय दिलाउनका लागि आफू पछि नहट्ने बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा बागमती गाँउपालिकाका अध्यक्ष सर्केस घलानकोे पनि उपस्थिति रहेको थियो ।