हेटौंडाः दलित सञ्जाल मकवानपुरले मनहरीका अजय सुनुवारको रहस्यमय हत्याको बास्तविकता बाहिर ल्याउन प्रहरीलाई दबाब दिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आज हत्या भएको १३ दिनसम्म पनि वास्तविकता बाहिर नआएको भन्दै दलित सञ्जाल मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानालाई आज ज्ञापन पत्र बुझाएको छ ।
गत कार्तिक २५ गते मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी अजय विश्वकर्माको मुत्यु प्रकरणलाई लिएर सत्यतथ्य अनुसन्धान गरी दोषीलाई चाडो भन्दा चाडो कानुनको दायरामा ल्याउन दलित सञ्जाल मकवानपुरले माग गरेको छ ।
आज जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझनुहुँदै प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले अहिले घटनाको अनुसन्धान भइरहेको र छिट्टोभन्दा छिटो वास्तविकता छर्लङ हुने बताउनुभएको छ । दलित सञ्जाल मकवानपुरका पदाधिकारीहरुले घटनास्थल र पीडित परिवारमा पुग्दा मृतक विश्वकर्मालाई घरबाटै संगै लिएर जाने वासु उप्रेती हालसम्म प्रहरी तथा परिवारको सम्पर्कमा नआउनु, लोथर खोला किनारको घटना स्थलमा रगतका थोपाहरु भेटिनु, स्थानीयका अनुसार घटना स्थलमा अघिल्लो दिन पनि झगडा हुनु, घटनासंग सम्वन्धित कोही पनि सम्पर्कमा नहुनु, मृतकको घडी, मोवाईल, पर्स लगायतका व्यक्तिगत सामान साथमा नहुनु, पीडित परिवारलाई रकम सहित मेलमिलाप गर्न प्रस्ताव आउनु जस्ता तथ्यहरुले मृत्य रहस्यमय भएको जनाएको छ ।
सञ्जालले आशंका गर्ने धेरै ठाउँ भएकोले सत्यतथ्य अनुसन्धान गरेर दोषीलाई चाडो भन्दा चाडै कानुनको दायरामा ल्याउन प्रहरीलाई अनुरोध समेत गरेको छ । ज्ञापनपत्र बुझाउन दलित सञ्जाल मकवानपुरका अध्यक्ष राम बहादुर नेपाली, कमल कुमार विश्वकर्मा, सानुभाई विश्वकर्मा, रत्नलाल विश्वकर्मा, कानुन व्यवसायी रामबाबु देउला लगाएतको उपस्थिति रहेको थियो ।