हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका विद्यालयहरु आजबाट खुलेकोे छ । हेटौंडा–१ चाइनाक्वाटरस्थित अमर मावि, सिद्धार्थ मावि आजबाट खुलाइएको हो । यस्तै अन्य विद्यालयहरु पनि आजबाट खुलेका छन् । विद्यालयहरु आजबाट खुलाइएपनि कोरोना भाइरसको संक्रमणको जोखिमका कारण विद्यार्थीहरु विद्यालयमा आउन सकेका छैनन ।
कुल ६ सय ६२ जना विद्यार्थी संख्या रहेको अमर माविमा आज ७५ जनामात्र विद्यार्थीहरु उपस्थित भएका छन् । विद्यालयमा आउने विद्यार्थीको संख्या अनुसार सिफ्ट अनुसार कक्षा सञ्चालन गर्नै, प्रत्येक बेन्चमा २ जना विद्यार्थीमात्र राखिने विद्यालयका रमेश बत्तौलाले बताउनुभयो ।
यसैगरी सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षा १ देखि १२ सम्म १८ सय विद्यार्थी संख्या रहेको छ । आजबाट खुलाइएको विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई बोलाइएको थियो । कुल ६० जना विद्यार्थीहरु उपस्थित भएको विद्यालयका प्रधानाध्यापक मोहन शर्माले जानकारी गराउनुभयो । सानो कक्षाको विद्यार्थीहरुको बुझ्ने क्षमता कम हुने भएकाले उनीहरुलाई विद्यालयमै भौतिक उपस्थित गराएर पठनपाठन संचालन गरिएको छ भने भोलि सोमबारबाट कक्षा ६ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई घरैमा अनलाइन कक्षा सञ्चालन गरिने भएको प्रधानाध्यापक शर्माले बताउनुभयो ।