हर्ट बीटका सहयोगी जुजुकाजी महर्जन न्यानो कपडा हस्तान्तरण गर्नुहुँदै ।

हेटौंडाः हर्ट बीट नामक सहयोगी संस्थाले मामाघर नेपालका बालकहरुलाई न्यानो कपडा सहयोग गरेको छ । चिसो मौसम आएसँगै हर्ट बीटका जुजुकाजी महर्जनले १८ सेट न्यानो कपडा हाइनेकका साथै सरसफाईका लागि साबुन १८ वटा, मन्जन १८ वटा, पानीको बोतल १७ वटा र मास्क १ पाकेट सहयोग गर्नु भएको छ । शनिबार बिहान मामाघर नेपालमै पुगेर सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।
यस्तै शनिबार नै मनहरी गाउँपालिकाका बिदुर रिजालले आफ्नो जन्मदिनको अवसरमा करिब ५० हजार मुल्य बराबरको कार्पेट र जाडोको लागि न्यानो कपडा सहयोग गर्नु भएको छ ।

बुधबार पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पनि मामाघर नेपाललाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । हेटौंडा–हुप्रचौर घर भई हाल फिनल्याण्ड बस्नु हुने रश्मि प्याकुरेलको जन्मदिनको अवसरमा बिहीबार मामाघर नेपाललाई १० हजार रुपैयाँ सहयोग गरिएको छ । बुवा छवि रमण प्याकुरेल र भाइ टार्बी रमण प्याकुरेलले मामाघर नेपालमा पुगेर सहयोग रकम उपलब्ध गराउनु भएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले जानकारी दिनुभएको छ । मामाघर नेपाललाई हरेक दिन सहयोग प्राप्त भइरहेको छ ।