छलफलमा सहभगी नगरका निजी विद्यालयका प्रधानाध्यापक, प्याव्सन मकवानपुरका पदाधिकारीहरु ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगर भित्रका सम्पूर्ण विद्यालयहरु खुलाउने तयारी भएकोे छ । तयारी स्वरुप शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नगरभित्रका निजी विद्यालयका प्रधानाध्यापकहरुसँग विद्यालय कसरी खुलाउन सकिन्छ भनेर छलफल गर्नुभएको छ । छलफलमा नगरका निजी विद्यालयका प्रधानाध्यापक, प्याव्सन मकवानपुरका पदाधिकारीको उपस्थिति रहेको थियो ।

विगत ८ महिनादेखि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द रहेका विद्यालयहरु खुल्ने मेयर महतले बताउनुभएको छ । उहाँले विद्यालयमा मास्क, सेनिटाइजर, हात धुने व्यवस्था गरेर तथा ज्वरो नापेर मात्रै विद्यालयहरु सञ्चालन गर्न दिइने बताउनुभयो । नगरभित्रका धेरै विद्यार्थी संख्या रहेको विद्यालयहरु भने आलोपालो प्रणालीमा चलाउनुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । शुक्रबार भएको अन्तरक्रियामा निजी विद्यालयका प्रधानाध्यपकहरुले स्वास्थ्य सुरक्षा अपनाएर कक्षा १ देखि १२ कक्षासम्म सञ्चालन गर्नुपर्ने बताएका थिए । लामो समयसम्म अनलाइन कक्षा सञ्चालन गरिए पनि अब भने भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्नुपर्ने जनाएका थिए ।

अन्तरक्रियामा सहभागी भएका निजी विद्यालयका प्रधानाध्यापकहरुले कक्षा १ देखि ५ सम्म र कक्षा ६ देखि ८ तथा कक्षा ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई एकै समयमा कक्षा सञ्चालन गर्ने, धेरै विद्यार्थी भएको विद्यालयहरुमा अलग–अलग समयमा कक्षा सञ्चालन गर्ने, घन्टी÷अवधी घटाउने, अवस्था हेरी कक्षा सञ्चालन गर्ने, कुनै दिन कुनै कक्षा र कुनै दिन अर्को कक्षा गर्ने, केही विद्यार्थी कुनै दिन र केहीलाई कुनै दिन र हप्तामा केही दिन र केही घण्टा सञ्चालन गर्ने विकल्पहरु लिखित रुपमा हेटौंडा उपमहानगरपालिकालाई दिएका छन् । विद्यालयका प्रधानाध्यापकहरुले भने विद्यालयको तल्लो तहका विद्यार्थीहरुमा कोरोनाको सङ्क्रमण देखिएमा समस्या हुने भन्दै स्वास्थ्य सम्बन्धी कडा निगरानी गर्नुपर्ने बताएका छन् ।

यता प्याव्सन मकवानपुरका कार्यबाहक अध्यक्ष विनोद सुवेदीले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार ७ वटा विकाल्पहरु अपनाएर विद्यालयहरु सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले मकवानपुरको थोरै विद्यालयहरुको हकमा भने सबैलाई बोलाएर अध्ययन गराउन सकिने भएपनि धेरै विद्यार्थी संख्या भएका विद्यालयमा जोर–बिजोर प्रणाली लागू गर्नुपर्ने, अलग–अलग तहका कक्षा सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले विद्यार्थीहरु विद्यालयमा आउँदा ज्वरो नाप्नुपर्ने, विद्यालयमा रहँदा, बस्दा सेनिटाइजरको प्रयोग, विद्यालयको भौतिक अवस्था लगायतका कुराहरुमा ध्यान दिनुपर्ने बताउनुभयो । विद्यालयको शौचालय, बेञ्च लगायत सेनिटाइज गर्नुपर्ने जस्ता कार्यमा विद्यालय सचेत हुनुपर्ने उहाँको भनाइ छ । प्याव्सन मकवानपुरले पनि संघीय सरकारले कार्यढाँचा अनुसार विद्यालयहरु सञ्चलान गर्ने उहाँले बताउनुभयो ।

हेटौंडा उपमहानगरपालिकाले भोलि आइतबार नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गर्दैछ । सामुदायिक विद्यालयहरुको प्रधानाध्यापकहरुसँग विद्यालय सञ्चालन गर्ने वैकल्पिक उपायबारे छलफल भएपछि हेटौंडा उपमहानगरको शिक्षा समितिको बैठक बसेर विद्यालय सञ्चालन गर्ने निर्णय गर्ने शिक्षा विकास महाशाखा हेटौंडा उपमहानगरपालिकाको रहेको छ । हेटौंडा उपमहानगरपालिकाले नगरका निजी र सामुदायिक विद्यालयका प्रधानाध्यपकहरुसँग छुट्टाछुट्टै छलफल गरेको हो । यसअघि केही सामुदायिक विद्यालयहरुले पूरा कक्षा पनि सञ्चालन गरेका थिए । तर हेटौंडा उपमहानगरपालिकाले भने निजी र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगको सल्लाह पश्चात विद्यालय खुलाउने निर्णय गर्ने शिक्षा अधिकृत सरस्वती कोइरालाले जानकारी दिनुभयो ।