छठमा सूर्यलाई अर्घ दिँदै एक महिला । फाइल तस्विर ।

हेटौंडाः आज छठ पर्वको मुख्य दिन सन्ध्याकालिन समयमा सूर्यलाई अघ्र्य दिएर पूजा गरिनेछ । जलाशयलाई दुलही झैं सिंगारेर व्रतालुले सूर्यलाई अघ्र्य दिने परम्परा भए पनि यस वर्ष कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण मकवानपुर जिल्लामा स्थानीय प्रशासनले सामूहिक छठ घाट निर्माण तथा सामूहिक पूजा गर्न रोक लगाएको छ । आज साँझको नजिकको नदी तथा तलाउमा पुगेर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर घर फर्कने व्रतालुले भोलि बिहान उदाउँदो सूर्यको पूजा गर्दै छठ पर्वको समापन गर्नेछन् ।

यो पर्व विधि पुर्‍याएर मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रही आएको छ । छालासम्बन्धी रोग निदानका लागि र भाकल पूरा गर्न मानिसहरू नजिकैको पोखरी, जलाशय, कुण्डमा गइ यस दिन छठ पूजा गर्दछन् । षष्ठी तिथिका दिन मनाइने भएकोले यस पर्वको नाम अपभ्रंस हुँदै छठ भएको बताइन्छ । पहिले विशेषगरी तराई क्षेत्रमा मनाइने यो पर्व अहिले हिमाल, पहाडमा पनि मनाइन्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा अथवा (नहाई खाय), दोस्रो दिनलाई ‘खर्ना’, तेस्रो दिनलाई ‘सँझिया अघ्र्य’ र अन्तिम दिनलाई ‘विहनीया अघ्र्य’ पारायण भनिन्छ ।