हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पालिकाका कृषकलाई प्रदान गर्ने खाद्यान्नमा अनुदान कार्यक्रम कार्यान्वयन गर्न पालिकाभित्रका ५ वटा सहकारी ईच्छुक देखिएका छन् । सूचिकृत हुने अन्तिम दिन बुधबार मकवानपुर गढी गाउँपालिकामा ५ वटा सहकारी संस्था सूचिकृत भएको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले कार्तिक १८ गते एउटा सूचना प्रकाशित गर्दै सूचिकृत हुन भनेको थियो । सूचि दर्ता गराउने अन्तिम मिति बुधबार कार्यालय समयसम्ममा ५ वटा सहकारीले सूचि दर्ता गराएको कृषि शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार मकवानपुरगढी गाउँपालिका–१ को चेतनशील कृषि सहकारी संस्था लिमिटेड, २ नम्बर वडाको कुर्ले कृषि सहकारी संस्था लिमिटेड, ३ नम्बर वडाको धमिले कृषि सहकारी संस्था लिमिटेड, वडा नम्बर ४ को अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्था लिमिटेड र ५ नम्बर वडाको स्वरोजगार साना किसान सहकारी संस्था लिमिटेडले कृषकलाई खाद्यान्नमा अनुदान कार्यक्रम कार्यान्वयन गर्न सूचिकृत भएका हुन् ।
सङ्घीय, प्रदेश वा स्थानीय सरकारले निर्धारण गरेको समर्थन मूल्यमा खाद्यान्न विक्री गर्ने कृषकलाई गाउँपालिकाले प्रतिकेजी २ रुपैयाँका दरले अनुदान वितरण गर्ने जनाएको छ । गाउँपालिकाले सहकारी संस्थामार्फत खाद्यान्न खरिद विक्री गर्ने गरी अनुदानको कार्यक्रम घोषणा गरेको हो । गाउँपालिकाभित्रकै सबैखाले सहकारी संस्थालाई खाद्यान्नमा अनुदान कार्यक्रम कार्यान्वयनका लागि सूचीकृत हुन सूचित गरे पनि कृषि सहकारीहरु मात्रै सूचिकृत भएका छन् ।
सूचीकृत भएका सहकारीले गाउँपालिकाका किसानले गाउँपालिकाभित्रै उत्पादन गरेका खाद्यान्न खरिद गर्न पाउनेछन् । यसरी पालिकामा सूचीकृत भई किसानको खरिद गर्ने सहकारीले पनि प्रतिकेजी २ रुपैयाँ अनुदान प्राप्त गर्नेछ । कृषकले उत्पादन गरेको खाद्यान्नको उचित मूल्य प्राप्त गर्न प्रोत्साहित गर्ने गरी पालिकाले पहिलो पटक खाद्यान्नबालीमा अनुदान कार्यक्रम घोषणा गरेको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभएको छ ।
गाउँपालिकाले कृषकलाई प्रतिकेजी २ रुपैयाँ र सहकारीलाई प्रतिकेजी २ रुपैयाँ गरी प्रतिकेजी ४ रुपैयाँ अनुदान दिनेछ । गाउँपालिकाले खाद्यान्नबाली धान, मकै, गहुँ, कोदो, फापरमा अनुदान दिने जनाएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै मकवानपुरगढी गाउँपालिकाले खाद्यान्नमा अनुदान कार्यक्रम सञ्चालन गर्ने जनाएको थियो । मकवानपुरगढी गाउँपालिकाले यसअघि कृषिमा आधुनिकीकरणका लागि कृषकलाई प्रविधि हस्तान्तरण, तालिम सञ्चालन गर्नुका साथै व्यावसायिक कृषिमा अनुदानका कार्यक्रम समेत कार्यान्वयन गर्दै आएको छ । व्यावसायिक कृषि प्रवद्र्धन गर्ने मकवानपुरगढी गाउँपालिका मकवानपुर जिल्लाकै अग्रणी पालिका समेत हो । गाउँपालिकाले व्यावसायिक तरकारी बाली तथा व्यावसायिक फलफूलखेतीलाई पनि प्रवद्र्धन गरेको छ ।