बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशन भइरहेको समृद्ध समाज राष्ट्रिय दैनिक मंसिर १ गतेबाट प्रकाशनको महत्वपूर्ण १० वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । मोफसलको पत्रकारितालाई व्यावसायिक र स्थानीय मुद्दालाई प्राथमिकता दिने उद्देश्यका साथ समृद्ध समाज राष्ट्रिय दैनिकको प्रकाशन आरम्भ गरेका थियौं । तीन वर्षयता स्थानीय सरकारको बलियो आकार स्थापित भइरहँदा हामीले प्राथमिकता दिएको स्थानीय मुद्दाले पनि स्थापित हुने अवसर पाइरहेको छ । स्थानीय सरकारको निगरानी गर्नु, स्थानीय सरकारलाई जनमुखी बनाउन हामी हाम्रो क्षमतालाई सदुपयोग गरिरहेका छौं ।
समृद्ध समाज राष्ट्रिय दैनिक प्रकाशनको एक दशकको अवधिले हामीलाई धेरै सिकाएको छ । सुरुवाती चरणमा हामी जति उत्साहित थियौं, अभ्यासको क्रममा हामी त्यत्ति सन्तुष्ट हुन सक्ने अवस्थामा रहेनौं । मोफसलमा रहेर छापा पत्रकारिताको अभ्यास गर्ने क्रममा आम रुपमा भोग्नुपर्ने समस्यालाई हामीले सामना गर्यौं । अपेक्षित अनपेक्षित समस्याको सामना गर्दै जाँदा सुरुवातदेखि अहिलेसम्म हामीले भोगेको एउटै प्रमुख समस्या भनेको पठन संस्कृतिको अभाव हो । मकवानपुर जिल्ला पठन संस्कृति र संस्कारका हिसाबले कमजोर क्षेत्र पनि हो । पठनपाठनलाई हरेक उमेर समूहले महत्वपूर्ण दैनिक क्रियाकलापको रुपमा आत्मसात गर्नुपर्ने आवश्यकता विपरित मकवानपुरका आम नागरिकले पठनपाठनलाई औपचारिक शिक्षाको अभ्यासमा मात्रै सीमित राख्ने गरेको पाइएको छ ।
यस बीचमा हामीले पठन संस्कृतिको विकासका लागि हामीले राम्रा सामग्री पो तयार गर्न नसकेर हो कि भनेर पनि मूल्यांकन गर्यौं । तर, हाम्रा पाठकले हामी माझ हामीले प्रकाशन गर्ने सामग्रीका विषयमा कुनै किसिमको प्रतिक्रिया नै जनाउन आवश्यक ठानेको देखिएन । यसले पठन संस्कृतिको विकास गरिनुपर्ने आवश्यकतालाई हामीले महसुस गरेका छौं । नागरिकलाई सचेत गराउने कर्ममा क्रियाशील हामीले मकवानपुरमा पठन संस्कृतिको विकासमा पनि केही काम गर्नुपर्ने महसुस गरेका छौं । यसर्थ आगामी दिनमा हामी हाम्रा पाठकहरुलाई पठनपाठन दैनिक जीवनको महत्वपूर्ण र नियमित कामको रुपमा स्थापित गराउने प्रयास गर्नेछौं । जसले हाम्रो कामलाई अझ स्थापित हुने अवसर प्रदान गर्नेछ ।
एक दशकको उतारचढावपूर्ण समयका बाबजुद हामीले नागरिकलाई सूचित गराउनुपर्ने दायित्वलाई मनन् गरेका छौं । वार्षिकोत्सवको अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, लेखक, शुभेच्छुक एवम् सहयोगीप्रति आभारी छौं । समृद्ध समाज राष्ट्रिय दैनिकको सम्पादकीय समूहका साथै सिंगो टिम नै आगामी दिनमा अझ प्रतिवद्ध र जिम्मेवार भएर नागरिकलाई सचेत, सूचित र शिक्षित गराउन आफ्नो सीप, दक्षता, कला, स्रोत, साधनको उपयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछौं । मोफसलको पत्रकारितालाई समयानुकुल बनाउने, जिम्मेवार र जवाफदेही पत्रकारिताको अभ्यासमा समृद्ध समाज राष्ट्रिय दैनिकले आगामी दिनमा उल्लेखनीय कार्य गरेको आम पाठकका लागि गर्विलो विषय बनाउनु हाम्रो लक्ष्य हुनेछ ।