पर्वहरुले नेपाली समाजलाई एकतावद्ध बनाइराखेको छ । सबै वर्ग, क्षेत्र र सम्प्रदायको सबै चाडपर्वलाई उत्तीकै सम्मान गर्ने परम्परा नै नेपाली विशेषता हो । त्यसैले राज्यले धेरै भन्दा धेरै पर्वहरुमा सार्वजनिक विदा दिने गरेको छ । यस्तै कतिपय पर्वमा समुदायको बसोबासका आधारमा प्रदेश, वा स्थानीय तहमा समेत बिदा दिने गरिएको छ । परम्परागत रितिरिवाज र पर्वहरुले सामाजिक रुपमा पनि मानिसहरु बीच एकताको भावना विकास गरेको छ । नेपालीहरु जुनसुकै मुलुकमा भए पनि आफ्नो मौलिक सांस्कृतिक पर्वहरु मनाउँदै आएका छन् । यसले पनि चाडपर्व प्रति नेपालीहरुको सस्कार नै बन्ने गरेको छ । यस्ता चाडपर्वहरु खुशीयालीपूर्वक मनाउनु पर्दछ । तर पछिल्लो समयमा पर्वहरु बोझिलो बनाउँदै लगिएको अवस्था छ ।
सांस्कृतिक महत्वका आधारमा भन्दा पनि देखासेखीका रुपमा भड्किलो भनाउने प्रवृत्तिको विकास भएपछि कतिपयका लागि बोझ बन्न थालेको छ । आफ्नो हैशियत भन्दा पनि छिमेकीको तुलनामा मनाउनु पर्ने वातावरण निर्माण भएको छ । यसमा मानिसको अहमताले भूमिका खेलेको हुन्छ । आफूसँग जे छ त्यही आधारमा पर्वमा रमाउने भन्दा अरुका लागि देखाउने मनोवृत्तिले गर्दा खर्चिलो बन्दै गएको छ । धेरै खर्चिला पर्वका रुपमा तिहार पनि पर्दछ । खर्च गर्ने प्रवृत्ति बढ्दै गएपछि नेपाली करोडौं रुपैयाँ विदेशिएको छ । तिहारका लागि झिलिमिली बत्तीदेखि भाइमसलाका रुपमा उपयोग गरिने वस्तुका लागि विदेशमै भर पर्नुपर्ने अवस्था छ । नागरिकले खरिद गर्ने वस्तु तथा सेवाको व्यवस्थापन गर्न राज्यले आयात गराउने व्यवस्था गर्नु नै पर्दछ । त्यसका लागि ठूलो धनराशी बाहिरिएको अवस्था छ ।
तिहार झिलिमिलीको चाड हो । विशेषगरी फुलको झिलिमिली बनाउने तिहारलाई आहिले विजुली वत्तीले उज्यालो बनाउने गरिन्छ । फुल समेत बनावटी प्रयोग हुने गरेका छन् । दिदीबहिनी र दाजुभाई बीचको आत्मीय चाड तिहार रामरौस गर्ने, देखासेखीका लागि महंगो उपहार लिने दिने र तुलना गरेर रिस, राग पाल्ने प्रवृत्तितर्फ ढल्कँदै गएको छ । यस्तै मनोरन्जनका लागि पट्काईने बम, पटाका, वारुदले वातावरणमा नकारात्मक प्रभाव पर्नुका साथै दुर्घटना समेत हुने गरेका छन् । यस्तो संस्कृतिले आर्थिकदेखि मानसिक रुपमा समेत नोक्सान गरिरहेको हुन्छ । यसतर्फ पछिल्लो पुस्ताले गम्भीर भएर चिन्तन गर्न आवश्यक छ । हैन भने नेपाली मौलीकताको तिहार किम्वदन्तिमा मात्र सीमित हुनेछ । पर्वहरु मानाउँदा त्यसको सांस्कृतिक पक्षको महत्वलाई बुझ्ने र बुझाउन सकनु पर्दछ ।
यस पटक कोरोना माहामारीका बीच पर्वहरु मनाइँदै छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं सकियो भने तिहारको पनि घरघरमा स्वागत हुँदै छ । महामारीका कारण नागरिकका आयश्रोतहरु बन्द भएका छन् भने एक अर्का बीचको दूरी समेत कायम गर्नुपर्ने अवस्था छ । चाडवाड मनाउने नाममा कोरोनाबाट संक्रमण हुने खतरालाई बुझ्न सक्नु पर्दछ । भेला भएर देउसी भैलो खेल्नेदेखि अन्य मनोरन्जन गर्ने कामलाई यस पटकको तिहारमा बन्द नै गर्दा उत्तम हुनेछ । पर्वहरु प्रत्येक वर्ष आउँछन् । तर कोरोनाका कारण मानवीय क्षति भए अर्को वर्ष पनि त्यसको पूर्ति हुन सक्दैन । तसर्थ चाडपर्व मनाईरहँदा स्वास्थ्य सावधानी अपनाउन जरुरी छ । यस्तै स्वास्थ्य मापदण्डको परिपालना गर्दै होशियारीपूर्वक चाडपर्व मनाऔं । तिहारको शुभकामना ।