मुलुकमा सङ्घीयतामा गएपछि सबै प्रकारका सेवाहरु नागरिकले आफ्नै घर नजिकबाटै पाउने उद्घोष गरिएको थियो । त्यसका लागि राज्यको पूनर्संरचना समेत भएको छ । तर नागरिकले सेवा भने अझै पाउन सकेको अवस्था छैन । सेवा पाउनु पर्ने महत्वपूर्ण क्षेत्र मध्ये स्वास्थ्य पनि हो । स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरु वा चौकीहरुले प्रदान गर्ने सेवाप्रति सम्बन्धित निकायहरुबाट अनुगमन र नियमन आवश्यक हुन्छ । तर सो जिम्मेवारी सम्बन्धित पक्षले पूरा नगरेको पाइएको छ । मकवानपुरको मनहरी ७ मा रहेको प्राथमिक स्वास्थ्य चौकीको अवस्था एउटा उदाहरण बनेको छ । कोरोनाको महामारीमा स्वास्थ्य चौकी आउने सेवाग्राहीको सचेततादेखि स्वास्थ्यकर्मी र डाक्टरको अनुपस्थिति, निशुल्क वितरण हुनुपर्ने औषधिको उपलव्धता, हेल्प डेस्क, नागरिक सूचना बोर्ड नभएको विषय उदाहरण हुन् । यही अवस्था अन्य स्थानीय तहमा पनि छन् ।
स्वास्थ्य सेवा प्रभावकारी हुन त्यसका संरचना र संस्थागत सुधार आजको आवश्यकता हो । नागरिकले सेवा लिने प्राथमिकदेखि ठूलो उपचारका लागि स्वास्थ्य संस्थामा गुणस्तरीय औषधि र उपकरणको आपूर्ति नियमित गराउनु चुनौती बन्दै आएको छ । औषधि र उपकरणले मात्र पनि नागरिकले सेवा पाउँदैनन् । यसका लागि योग्य र जवाफदेही स्वास्थ्यकर्मीको व्यवस्थापन हुनु पर्दछ । त्यसो भए मात्र नागरिकले प्राप्त सेवाप्रति विश्वास गर्न सक्ने छन् । नत्र ग्रामीण क्षेत्रमा भएका स्वास्थ्य केन्द्रहरुले प्रदान गर्ने सेवाप्रति नागरिकले अविश्वास गर्ने अवस्था रहन्छ । मकवानपुरकै हकमा स्वास्थ्य संस्थाले दिने सेवामा नागरिकको विश्वास छैन । त्यसमाथि स्वास्थ्य संस्थामा जनशक्तिदेखि औषधि र उपकरणको अभाव छ ।
समुदायमा रहेका स्वास्थ्य संस्थाहरुले स्वास्थ्य उपचार भन्दा स्वस्थ जीवनशैली, रोग रोकथाम र स्वास्थ्य प्रबर्धनका क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । मानिसमा रोग लाग्न नदिने वातावरण बनाउनु नै ठूलो उपचार हो । तर त्यस प्रकारको चिन्तन, कार्यक्रम र योजनाहरु जनस्तरसम्म पुर्याउने तर्फ कसैको पनि अग्रसरता देखिँदैन । औषधि वितरण गर्ने वा विरामी भएर आए परीक्षण गर्ने मात्र स्वास्थ्य संस्थाको विस्तार गरिनु हुन्न । तर यस्ता संस्थामा परिचालन हुने जनशक्तिले केवल जागिर खाने मात्र काम गर्दा स्वास्थ्य सेवाको क्षेत्र अझै कमजोर बनेको छ । यसलाई नियन्त्रण गर्ने दायित्व समुदाय र स्थानीय तहहरुको पनि हो । तर आज सबै पक्ष जवाफदेही हुन नसक्दा सेवाग्राहीले समस्या भोग्दै आएका छन् ।
समाजका सबै क्षेत्र अनुशासित भए मात्र राज्यले प्रदान गर्ने सेवा, सुविधा नागरिकसम्म पुग्न सक्छ । तर सेवा प्रदायकदेखि सेवाग्राहीसम्म पनि ईमान्दारीपूर्वक जिम्मेवारी पूरा गर्नबाट चुकिरहेका छन् । यही प्रवृत्तिले स्वास्थ्य क्षेत्रमा अनेक बेथितीहरु मौलाएको छ । राज्यबाट निशुल्क उपलव्ध गराउने औषधिहरु स्वास्थ्य केन्द्रमा नपाउने तर त्यही कार्यरत कर्मचारी वा स्वास्थ्यकर्मीले सञ्चालन गरेको मेडिकलमा पाईन्छ । सम्बन्धित निकायले नियमन नगर्दा यस्ता प्रवृत्ति हावी हुँदै गएका छन् । त्यति मात्र होइन निशुल्क सेवा दिनुपर्ने सरकारी इकाईमा स्वास्थ्यकर्मी भेटिँदैनन् । सेवाग्राहीले सेवाका लागि शुल्कसहित उनीहरुको क्लिनिकमा जानुपर्ने बाध्यता छ । यस्ता विकृत्तिकाविरुद्ध स्थानीय सरकारदेखि नागरिक समाजको पनि भूमिका हुन आवश्यक छ ।