हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले वैकल्पिकरुपमा शिक्षण गर्दा निजी विद्यालयले लिने शूल्क निर्धारण गरेको छ । हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै नयाँ शुल्क निर्धारण गरेको जनाएको छ । वैकल्पिक माध्यमबाट शैक्षिक सत्र सञ्चालन गर्ने समयावधिभरका लागि नयाँ शुल्क निर्धारण गरिएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख पूर्णबहादुर अछामीले बताउनुभयो । उपमहानगरपालिकाले क, ख र ग गरी विद्यालयलाई ३ वर्गमा छुटाएको छ ।
उपमहानगरले ग वर्गको विद्यालयले कक्षा १ मा नौं सय रुपैयाँ र कक्षा १० मा एक हजार दुई सय ९५ रुपैयाँ शूल्क निर्धारण गरेको छ भने ख वर्गको विद्यालयले कक्षा १ मा एक हजार एक सय ३७ रुपैयाँ र कक्षा १० मा एक हजार छ सय १८ रुपैयाँ मासिक शूल्क लिन पाउने निर्णय गरेको छ । यस्तै क वर्गका विद्यालयले कक्षा १ मा एक हजार तीन सय ६५ रुपैयाँ र कक्षा १० मा एक हजार नौं सय ४२ रुपैयाँ लिन पाउने निर्णय गरेको छ ।
त्यस्तै विद्यालयले वैकल्पिक माध्यमबाट शैक्षिक सत्र २०७७ सञ्चालन गरे वापत अभिभावकको सहमतिमा कक्षामा सहभागी भएका विद्यार्थीको मात्र उनिहरु सहभागी भएको समयदेखि शुल्क लिन पाउने निर्णय गरेको छ । कक्षा सञ्चालन नभएको अवधिको शुल्क लिन नपाइने समेत उपमहानगरपालिकाले जनाएको छ ।