हेटौंडाः हेटौंडा–१७, हटियास्थित बालबोध माविले कक्षा ११ को वार्षिक परीक्षा लिन सुरु गरेको छ । बालबोध माविले मङ्गबारदेखि वार्षिक परीक्षा लिन सुरु गरेको हो । कोभिड–१९ को महामारीका कारण गत बैशाखमा हुनुपर्ने परीक्षा अहिले आन्तरिक रुपमा विद्यालयले नै लिने सङ्घीय सरकारको निर्णयपछि बालबोध माविले परीक्षा लिन सुरु गरेको विद्यालयका प्रधानाध्यापक रमेश रिजालले जानकारी दिनुभएको छ ।
विद्यालयले एउटा कक्षाकोठामा १५ देखि २० जना विद्यार्थीलाई राखेर परीक्षा लिइरहेको छ । एउटा बेञ्चमा एकजना विद्यार्थीलाई राखेर एक सय पूर्णाङ्कको परीक्षा सञ्चालन गरिएको प्रधानाध्यापक रिजालको भनाइ छ । एकदिन बिराएर परीक्षा तालिका निर्माण गरिएको र परीक्षा कार्तिक २७ गते सकिने छ ।
बालबोध माविमा नियमिततर्फ ३१ जना र आंशिकतर्फ ११ गरी ४२ जना विद्यार्थी परीक्षामा सहभागी भइरहेको प्रधानाध्यापक रिजालले जानकारी दिनुभएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले परीक्षाको अवलोकन समेत गर्नुभएको छ ।