हेटौडाः मकवानपुर जिल्लाको बालअधिकारको वर्तमान अवस्थाबारेमा छलफल भएको छ । शुक्रबार भएको छलफलमा बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले कोभिड १९ को महामारीको अवस्थामा मकवानपुरको बालबालिकाहरुले भोगिरहेका समस्याको बारेमा जानकारी गराउनुभएको थियो ।

उहाँले छलफलमा बालबालिका हिंसा र यौन दुव्र्यवहारमा परिरहेको, मनोसामाजिक समस्याबाट आक्रान्त भएको, बालबालिकाको विद्यालय छाड्ने दर बढ्न सक्ने, बालबिबाहमा बृद्धि भएको, अवरुद्ध भएको सिकाई प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको, समाजले नेपाल सरकारबाट जारी गरिएको शिक्षण सिकाई सहजीकरण निर्देशिकालाई प्रभावकारी कार्यान्वयनमा ल्याउन पहल गरिरहेको विषयमा बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल सरकारबाट नवनियुक्त राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलन राज धरेललाई सम्मान समेत गरिएको थियो । उहाँले बालमैत्रि समाज निर्माण र निकृष्ट प्रकारको बालश्रमलाई न्युनीकरण गर्न बालकल्याण समाज मकवानपुरको भूमिका र बालअधिकारको सवालमा सरकारले उद्दार, पुनस्र्थापना लगायत नीतिगत, संस्थागत रुपमा धेरै कामहरु र नागरिक समाजको सहकार्यबाट तीनै तहको सरकारको समन्वयबाट सरकारले बालअधिकारको क्षेत्रमा देख्न र अनुभूति गर्न सकिने गरी परिणाममुखी कार्य गर्ने समेत बताउनु भयो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिब कृष्णप्रसाद भुसाल र राष्ट्रिय बालअधिकार परिषद्का कार्यक्रम अधिकृत केशव चालिसे लगायतको उपस्थिती रहेको थियो ।