आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योघधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
माथिको मन्त्र दशैंको दशौं दिन मान्यवरहरुले टिका लगाइदिँदा आशिष दिने साझा मन्त्र हो । दशैंको सांस्कृतिक मान्यता र लोकदर्शन अनुसारको महत्व सबै नेपालीले बुझेका छन् । यस विषयमा धेरैले धेरै लेख रचना मार्फत विचार व्यक्त पनि गरेका छन् । कैयन समाजशास्त्री, मानवशास्त्री, दर्शनशास्त्री, नीतिशास्त्रीहरु र सरकारी माध्यमबाट भत्ता खाने पञ्चाङ्ग समितिका ज्योतिषशास्त्रीहरुले समेत दशैंको महत्व र व्यवहारिक प्रयोगका बारेमा धेरै बोलेको, लेखेको भेटिन्छ । तर सबैको विचार सही पनि छन् । सबैले आ–आफ्नो दृष्टिकोण अनुसार विश्लेषण गर्नुभएको छ । यस लेखमा दशैंको समग्र सन्देश र विजयादशमीका दिनको मन्त्रको अर्थ प्रष्ट्याउने प्रयास गरिएको छ ।
हाम्रो नेपाल नै वास्तवमा हिन्दू संस्कारको उद्भव भएको स्थल होे । शाक्त, शैव, गणपत्य, बैष्णव सम्प्रदाय मार्फत हिन्दु सभ्यता वा धर्मको पालना प्राचीनकालीन गोपाल वंशावलीहरुमा पनि उल्लेख हुनु र धर्मशास्त्रहरु वेद, पुराण र उपनिषद्हरुमा समेत हिमवत्खण्ड भनेर सिङ्गो वैदिककालीन नेपालखण्डको उल्लेख हुनुले नेपालको मौलिक हिन्दु सभ्यता सत्यवतीको नामले सत्ययुगमा अहिलेको इरानदेखि मंगोलिया हुँदै बर्मासम्म र दक्षिणमा भारतीय उपमहाद्वीपसम्म फैलिएको पाइन्छ । मस्टो देवतालाई अहिले मङ्गोलिया, इरान र बर्मासम्म विभिन्न जातजाति र प्रजातिहरुले कुलदेवताको रुपमा पूजाअर्चना गर्ने र हिन्दु संस्कार अनुसार पूजाआजा गर्नाले यो सिद्ध हुन्छ । तर यसमा कुनै अनुसन्धान र खोज हुन सकेको छैन र यसमा मुख्य अवरोध भारतबाट हिन्दू सभ्यता उद्भव भएको र त्यो स्थान सिन्धुघाँटीको सभ्यता हो भनेर भारतका पछिल्ला विद्वानहरुले सङ्कुचन गरेका कारण नै यो बारेमा अध्ययन अनुसन्धान नभइकन त्यही कुरालाई हो मा हो मिलाएर राहुल सांस्कृतायन पथमा नेपाली पण्डितहरु पनि पछि लागेकाले नेपालको वैभव र हिन्दु धर्म पालना गर्ने नेपालीहरुको वैदिक ईतिहास नामेट गर्ने काम भएको छ ।
तर जे भए पनि भारतमा मुगल र यवनहरुले राज्य गर्दा भारतका हिन्दुहरुलाई शरण दिने र हिन्दूत्वको जगेर्ना गर्ने काम नेपालका सम्राटहरुले गरेका हुन् । यस कुरालाई गहिरोसँग बुझ्न योगी नरहरीनाथको प्राचीन नेपालको ईतिहासलाई पढ्न सकिन्छ । यस लेखमा दशैं पर्वलाई विशेष रुपमा उठाउन खोजिएको छ । यस पर्वको शास्त्रीय मान्यता असत्यमाथि सत्यको जीतको सम्झनामा मनाउन थालिएको हो र दशैं पर्वको सुरुवात राम भगवानले भगवतीको उपासना गरेर लङ्का विजयपछि शुरुवात गरिएको मानिन्छ । कतिपयले देवी दुर्गाले शुम्भ निशुम्भ, रक्तवीज, महिषाषुर जस्ता दानवहरुले संसारमा अत्याचार गरेर मानव मात्र होइन देवीदेवतालाई समेत हाहाकार मच्चाएपछि सबै देवताहरु ब्रह्माको शरणमा गए, ब्रह्माले म ती राक्षसलाई बध गर्न सक्दिन भनेपछि उनीहरु विष्णुको शरणमा गए, विष्णुले पनि शिवको शरणमा गएपछि शिवजीले महिषाषुरले नारीको हातबाट मात्र बध हुनसक्ने वरदान पाएको बताउनुभयो । कुनै पनि महिलाहरुमा त्यस्ता विराङ्गना को हुन् भन्ने प्रश्नको उत्तर खोज्न थालियो ।
सरस्वती विद्याकी देवी हुन्, लक्ष्मी धनकी देवी हुन भने शक्तिकी स्रोत जगत जननी पार्वती हुन् । एक्लाएक्लै लड्दा पार्वती देवीलाई पनि कालीको रुप लिएर उनीहरुलाई मार्न कठीन भयो । पछि फेरि युद्धको बीचमा नै वैठक बसी यस्तो निष्कर्ष निकालियो कि महिला फौजले अगुवाई गर्ने र पुरुषहरुले पनि साथ दिने तर कसरी साथ दिने भन्ने क्रममा ९ जना शक्तिशाली पुरुष देवताहरुको आत्मामा भएको नारीत्व भावको शक्तिलाई एक रुपमा समावेश गर्ने जस्तै कौमारी, कात्यायनी, शैलपुत्री, बाराही आदि शक्तिलाई एकीकृत गर्दा नवदुर्गा भवानीको ठूलो शक्ति उत्पत्ति भयो र त्यही नारी शक्तिले पछि महिषासुरको वध गर्नुभयो भनिन्छ । यसबाट हामीलाई प्राप्त सन्देश के हो भने हरेक पुरुषमा १० प्रतिशत नारीत्व हुन्छ, जुन कोमलता, दया, करुणा, सृष्टि र उग्रचण्डीको आवेगको काम गर्न सक्दछ भने हरेक महिलामा १० प्रतिशत पुरुषत्वको गुण हुन्छ, जुन लडाई, वीरता, शुरता र बाहुबलको रुपमा प्रयोग गर्न सकिन्छ । यो कुरालाई हामीले विचार गर्नुपर्दछ ।
महिलालाई सम्मान गर्नूपर्छ र पुरुषलाई पनि महिलाको गुणहरुबाट सृष्टिले वञ्चित गरेको हुँदैन । आपत विपतमा नारी शक्तिले नै संसारको रक्षा गरेको हो । शक्तिपीठमा गएर ढोगेर पूजा गर्दैमा भगवती प्रशन्न हुने होइन कि आफूमा भएको स्त्रीत्व चिनेर स्त्रीजातिको सम्मान गर्ने पुरुष र आफूमा भएको पुरुषत्व पहिचान गरी पुरुषार्थ गर्न समेत तयार हुने महिलाको उपासनाबाट मात्र देवी नवदुर्गा छिटो प्रशन्न हुनुहुनेछ ।
त्यस्तै दशैं पर्वको अर्को महत्वपूर्ण सन्देश भनेको हरेक मानिसको मन सत्व, रज र तम गुणले बनेको हुनाले हाम्रा स्वभाव र व्यवहारहरुमा देवता र दानव दुबैका विचारहरु मिश्रित रुपमा रहेको पाइन्छ । यदि हामीले कुनै पनि कुविचार जसले व्यक्ति, समाज र सृष्टिलाई नोक्सान पुर्याउँछ, त्यस्ता विचार र रिस, राग, घमण्ड, काम, क्रोध र वासनाजस्ता संवेगहरुलाई त्याग्नु नै बलि हो । बलिको अर्थ त्याग हुन्छ । त्यसैले दशैंमा त्यस्ता भावनात्मक कुराहरुको त्याग गर्नुपर्छ भन्ने कुरा नै बलि हो । पछि तन्त्रयानी समुदायले तान्त्रिक विधि अनुसार कालरात्री गर्ने र पशुबली दिने प्रचलन हो । त्यसलाई नै परम्परा बनाइयो, जुन गलत छ । वास्तवमा समाज विरोधी भावनालाई त्याग गर्नु नै बलि हो भन्ने सन्देश हामीलाई दशैं पर्वले प्राचीनकालदेखि दिइरहेको छ, तर हामी भने मासु खाने चाडको रुपमा दशैंलाई लिने गरेका छौं । यो कुनै पनि वैदिक परम्परा अनुसार देवीदेवताको मन्दिरमा पशुबली दिने कुरा उल्लेख नै छैन । त्यसैले यसलाई सच्याएर व्यवहारमा लागू गर्नुपर्ने देखिन्छ । सचेत र पढे–लेखेका वर्गले यस्ता कुराहरुमा ख्याल गर्दा राम्रो । मासु खानै पर्नेले घरमा काटेर खाएमा राम्रो, तर देवीदेवताको आड लिएर पशुबली गर्नु हाम्रो परम्परा होइन ।
अर्को दशैंको नौं दिनसम्म विभिन्न नवदुर्गाको उपासना गरेपछि हाम्रो नेपालमा दशौं दिनलाई विजया दशमी भनिन्छ । विजया दशमीमा साइत हेरेर मान्यजनबाट टिका, जमरा र आशीर्वाद लिने चलन छ । श्री अर्थात धनकी देवीको पनि आशीर्वाद प्राप्त होस् भनेर दक्षिणा दिने चलन चलेको हो, जुन सांकेतिक थियो, तर पछिल्ला दशकहरुमा दक्षिणा कति दिने र शान देखाउने वा कसले कति दक्षिणा दिन्छ, त्यो हेरेर आफन्त र मान्यवरहरुको हैसियतको कुरा गर्ने पनि चलन छ । कतिपयले भने कुन ज्वाई कहाँबाट आउँदा सपरिवारको दोहोरो भाडा कति हुन्छ ? हेरेर दक्षिणा दिने चलन पनि चलाएका छन् । यसपालि भने कोभिड–१९ का कारण टाढा–टाढाको यात्रा नगर्नु, वृद्धवृद्धालाई सङ्क्रमित नबनाउनु भनेर सरकारले घोषणा गरेको छ, सूचना गरेको छ, तर कतिपय नागरिकहरु लकडाउनको बेलामा जस्तै नियम उल्लङ्घन गर्न सके समाजमा वरिष्ठ ठानिने महसुस गरेर यसपालि पनि लामो यात्रा गर्ने होलान् । त्यो उहाँहरुको जिम्मेवारीभित्र पर्दछ ।
दशैंको आशीर्वाद दिने मन्त्रमा के सन्देश पाइएको छ भन्ने सन्दर्भमा कुनै अनलाइनमा देखिएको थियो कि यो प्राचिन मन्त्र हो, त्यो बेलामा अश्वस्थामालाई मणि झिकेर अहिले रन्थनिएर पनि चिरञ्जीवी भएका छन्, त्यस्तो आशिष के काम ? आदि ईत्यादी नकारात्मक सन्देश मात्र व्याख्या गरिएको थियो । त्यस्तो होइन यस मन्त्रले शास्त्रीय व्यक्तित्वहरुको असल गुणहरुको व्याख्या गरेको छ । जस्तै आयू द्रोणसुते अर्थात हे बालबालिका हो तिमीहरुको आयू द्रोणपुत्र अश्वत्थामाको जस्तै दिर्घायू रहोस्, श्रीयो दशरथे अर्थात हे बाबुनानी हो तिमीहरुलाई दशरथको जस्तैगरी धन प्राप्ति होस्, शत्रुक्षयं राघवे अर्थात श्रीरामको अर्को नागतिश्च पवने भनेको हे बाबुनानी हो, तिमीहरुको गनाम राघव हो र भगवान रामचन्द्रले जस्तै तिमीले आफ्नो शत्रु र संसारका सकारात्वम आममानिसका शत्रु राक्षस प्रवृति भएका सबै शत्रुहरुलाई मार्न सफलता मिलोस् । त्यस्तै ऐश्वर्य नहुषे अर्थात धन वैभव नहुष भन्ने व्यक्तिमात्र स्वर्गका ईन्द्रको आसन पाउने एकमात्र मानव हुन्, उनको जस्तो होस भनिएको हो । गतिश्च पवने अर्थात हावाको जस्तो होस्, जुन काम तिमी गर्छौ त्यो छिटोछरितो होस् र पवनको जस्तो सबैलाई प्राण दिने किसिमको होस् भनिएको हो ।
मानान्च दुर्योधने अर्थात् तिमीहरुको मानसम्मान दुर्योधनकै जस्तै रहोस् । हुन त दुर्योधन महाभारतका खलपात्र हुन्, तर यो मन्त्रले दुर्योधनजस्तो हुनु भनेको होइन, दुर्योधनको मर्ने दिनसम्म उसलाई कृष्ण भगवानले समेत के कस्तो कारणले तैंले युद्धको नियमविपरीत भीमबाट गदा प्रहार भएर अहिले यो अवस्थामा छौ प्रष्ट पार्नुपरेको थियो । मृत्यू सैय्यामा भएको समयमा समेत सेनापति अश्वत्थामालाई बोलाएर पाँच पाण्डवको मृत्यू भएको खबर लेराउ अनिमात्र म प्राण त्याग गर्छु भनेर आदेश दिएका थिए । मृत्यूले समेत त्यो आदेशलाई पालना गरेर दुर्योधनको प्राण हरेको थिएन । त्यसैले आफूले गरेको निर्णयमा अडिग रहने र आफ्नो वचनमा रहने जुन स्वाभिमान थियो, त्यो एउटा मानसम्मान पाउने स्वाभिमानी गुणचाहि तिम्रो दुर्योधनकै जस्तो होस् भन्ने कुरा मन्त्रमा उल्लेख भएको हो ।
दादानं सूर्यसुते अर्थात् सूर्यका छोरा कर्ण महान दानवीर थिए । उनले दान माग्न आउने कसैलाई पनि कहिले निराश बनाएका थिएनन् । उनको परीक्षा लिनलाई श्रीकृष्ण भगवानले उनी मृत्यूशैय्यामा छटपटिरहेको समयमा पनि ब्राह्मणको भेष गरी भिक्षांदेही भन्दा उनले निराश पारेका थिएनन् बरु ढुङ्गामा दाँत बजारेर सुनको दाँत झिकी कृष्णलाई दान दिएका थिए । त्यो आशा लिएर बसेका शुद्ध ब्राह्मणकालाई दान गर्नु, निराश नपार्ने गुण तिमीमा आओस् भनेर मन्त्रले भनेको हो । बल कृष्णका दाजु बलरामको जस्तो होस्, हलधरे भनेका बलराम हुन् र भनिन्छ की भीमसेनको दश हात्तिको बल थियो भने बलराम हजार हात्तिजति बलशाली थिए । सत्यको पालना गर्नमा पाँच पाण्डव अर्थात् कुन्तीपुत्रहरु जस्तै आपत् विपद्मा पनि सत्यको पालना गर्ने गुण होइजाओस् भनेको हो ।
यस्तै विज्ञानं विदुरे अर्थात् पढाइ, लेखाई, ज्ञान विज्ञान, नीति, तर्क आदि सबै विदुरको जस्तो होस र भवंति भवताम् अर्थात यस्तै भएर जाओस् र अन्त्यमा कृतिश्च नारायणे अर्थात् हामी जति धनी, ठूलो, स्वाभिमानी, दानवीर, उच्चपदस्थ भए पनि मर्दा त्यो हामीसँगै जाँदैन । हामीले गरेको पाप, पूण्य मात्र साथ लाने हो । कृति अर्थात गरेर छाडेका काम, घट्ना, धरोहर, भौतिक बस्तुको निर्माण आदिले हामीलाई पछिसम्म नाम आइरहने बनाउन सक्छ । बाबुनानी तिम्रो कृति भगवान विष्णुकोजस्तै पालनहारको रुपमा संसारमा चम्किरहोस् । यसरी दशैंमा टिका र जमरा लगाइदिँदा भन्ने मन्त्रको आशीषको सन्देश यही हो ।
हामी कोभिड–१९ को सङ्क्रमणको समयमा छौं । भौतिक दूरी कायम गरी संस्कृति मनाउनु हाम्रो दायित्व हो । कम्तीमा परिवारसँग घरमै मनाउने र साथीभाइसँग सामाजिक सञ्जालमा रमाउने यसपालिको दशैं पर्वमा माथि उल्लेख गरिएका तीन सन्देशहरुलाई हामीले मनन् गरौं । नेपालको वैदिक ईतिहास अध्ययन र मनन् गरी व्यवहारमा उतारौं । हामी सबैलाई दुर्गा भवानीले सामान्य जीवनयापन गर्ने उपयुक्त समयसम्म सुस्वास्थ्य र आरोग्यता प्रदान गरोस् । सबैमा वडा दशैं २०७७ को पुनीत अवसरमा हार्दिक मंगलमय शुभकामना ।।।
(लेखक सोसल स्टडिज टिचर्श एशोसियसन नेपालका महासचिव तथा सिद्धार्थ माविका सामाजिक अध्ययन विषय विभागका संयोजक हुनुहुन्छ ।)