हेटौंडाः मकवानपुर प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट ३ जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले मङ्गलबार साँझ ३ जनालाई छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।
प्रहरीले हेटौंडा–१०, राप्तिरोडका २६ वर्षीय एलिस श्रेष्ठ, हेटौंडा–६, गौरिटारकी २३ वर्षीया नम्रता चौलागाई र हेटौंडा–१७, हटियाका २७ वर्षीय दिपेश भुजेल रहेका छन् । श्रेष्ठलाई राप्तिरोडबाट १३ एम्पुल डाइजेपाम, १६ एम्पुल फेनारगन, १५ एम्पुल नुर्फिनसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चौलागाईलाई गौरिटारबाट ७५ पिस नाइट्राभेटसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस्तै भुजेललाई हटियाबाट लागुऔषध ९५ पिस नाइट्रोभेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले नियन्त्रणमा लिएका तीनैजना जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको र थप अनुसन्धान भईरहेको प्रवक्ता रानाले जानकारी दिनुभएको छ ।