हेटौंडाः मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनाका सिंह बहादुर सापकोटाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक ७ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । विगत ४ वर्षदेखि तरकारी खेती गर्दै आएका सापकोटाले यस वर्ष कृषि ज्ञानकेन्द्र चितवनबाट ४ लाख र मकवानपुरगढी गाउँपालिकाबाट २ लाख ४० हजार रुपैयाँ अनुदान पाएपछि ६ कठ्ठा जमिनमा गोलभेँडा खेती गरिरहेका छन् ।

ज्योति कृषि फर्म दर्ता गरी उनले व्यावसायिक गोलभेँडा खेती गरिरहेका छन् । गोलभेँडाको बोटमा अहिले लटरम्म फल लागेको छ । कृषकले थोपा सिंचाई, र आधुनिक प्रविधिको प्रयोगबाट आफ्नो बारीलाई आधुनिक कृषि फर्मका रुपमा विकास गरेका छन् । उत्पादन गरेको गोलभेँडा हेटौंडामा सहजरुपमा बिक्री भइरहेको छ । अहिले प्रतिकेजी एक सय रुपैयाँमा गोलभेँडा बिक्री भैरहेको कृषक सापकोटा बताउँछन् । गाउँघरमा खेरगैरहेको खेतियोग्य जमिनको सदुपयोग गर्न सके रोजगारीकै लागि विदेशिनु नपर्ने कृषक सापकोटाको भनाइ छ ।