हेटौंडाः नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्रले आफ्नो ग्राहकहरुलाई २ महिनामा ४८ लाख रुपैयाँ विद्युत महशुल छुट दिएको छ । गत वर्ष २०७६ सालको चैत्र ११ गतेदेखि मुलुक लकडाउन भएको थियो । लकडाउनको समयमा नेपाल विद्युत प्राधिकरणले घरेलु ग्राहकहरुलाई बिलिङ रकमको २५ प्रतिशत छुट दिएको जनाएको छ । गत वर्षको चैत्र महिनाको ११ गतेदेखि मिटर रिडिङ भएको घरेलु ग्राहक तथा २०७७ बैशाख महिनामा रिडिङ भएका घरेलु ग्राहकहरुलाई विद्युत प्राधिकरणले २५ प्रतिशत छुट दिएको नेपाल विद्युत प्राधिकरण, हेटौंडा वितरण केन्द्रका सहायक लेखापाल सुवास खड्काले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले गत वर्ष २०७६ चैत्र ११ गतेपछाडि मिटर रिडिङ भएका ४४ हजार ९ सय ९० घरेलु ग्राहकहरुको २४ लाख ३४ हजार ५ सय ४१ रुपैयाँ विद्युत महशुल छुट दिएकोे हो । यस्तै लकडाउनको अवस्थामा चालु वर्षको बैशाख महिनामा मात्रै ४५ हजार ३ सय घरेलु ग्राहकहरुको २४ लाख ४४ हजार रुपैयाँ विद्युत महशुल छुट दिएको उहाँले बताउनुभयो । हेटौंडा वितरण केन्द्रले गत वर्षको चैत्र महिनामा ५ एम्पिएरसम्मका ग्राहकहरु ४० हजार २ सय ४५ जना, ६ देखि १५ एम्पिएरसम्मका ४ हजार ३ सय ६८ जना, १६ एम्पिएरदेखि ३० एम्पिएरसम्मका ३०६ जना, ३१ देखि ६० एम्पिएरसम्मका १ जना, थ्रि फेज १० केभिसम्मका १ जना र थ्रिफेज १० केभि भन्दा माथिको १ जनालाई बिलिङ भएको रकमको २५ प्रतिशत रकम छुट दिएको प्राधिकरणको लेखा शाखाले जनाएको छ ।

यस्तै २०७७ वैशाख महिनामा ५ एम्पिएरसम्मका ४० हजार ४ सय ८९ जना, ६ देखि १५ एम्पिएर भएका ४ हजार ४ सय ६६ जना, १६ देखि ३० एम्पिएरसम्मका ३ सय २० जना, ३१ देखि ६० एम्पिएरसम्मका २२ जना, थ्रि फेज १० केभिसम्मका १ जना र थ्रि फेज १० केभि भन्दा माथिका २ जनालाई बिलिङ रकमको २५ प्रतिशत रकम छुट दिएको लेखा सहायक खड्काले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले ४८ लाख रुपैयाँ बराबर रकम केन्द्रमा स्वीकृतिका लागि पठाएको जनाएको छ । तर ग्राहकहरुले भने आफ्नो चैत्र र बैशाखको पनि जरिवाना लिएको र विद्युत प्राधिकरणले छुट नदिएको गुनासो गर्दै आएका छन् । यसको खण्डन गर्दै विद्युत प्राधिकरणले भने सम्पूर्ण घरेलु ग्राहकहरुको रकममा २५ प्रतिशत छुट दिएको जनाएको छ । यस्तै नेपाल विद्युत प्राधिकरणको नयाँ परिपत्र अनुसार भदौ १ गतेदेखि असोज २२ गतेसम्म विद्युत महशुल बुझाई जरिवाना लिइएको रकम ग्राहको खातामा राखिदिने भएको छ । नेपाल विद्युत प्राधिकरणबाट परिपत्र भएर आएको कारण केही समयमा नै जरिवाना लिइएको ग्राहकको खातामा रकम फिर्ता हुने भएको हो । हाल हेटौंडा विद्युत प्राधिकरणका ६१ हजार जना ग्राहक छन् ।