संकलित सहयोग रकम हस्तान्तरण गर्नुहुदै मकवानपुर कुखुरा व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रतिमा श्रेष्ठ ।

हेटौंडाः दक्षिण कोरियाको अस्पतालमा उपचाररत महिलालाई बिहीबार हेटौंडाबाट संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ । कुखुरा व्यवसायी संघ मकवानपुरकी वरिष्ठ उपाध्यक्ष प्रतिमा श्रेष्ठले धादिङ जिल्लाको गंगाजमुना गाउँपालिका फुलखर्क घर भई दक्षिण कोरियामा पढ्न गएकी सिमा बानियाँको उपचारका लागि संकलित सहयोग रकम आज हस्तान्तरण गर्नुभएको हो ।

वरिष्ठ उपाध्यक्ष प्रतिमा श्रेष्ठको अगुवाईमा ४० हजार ५ रुपैयाँ सङ्कलन गरेर सिमा बानियाँकी दिदि इन्दु बानियाँ र ठुलोबुवालाई हस्तान्तरण गरिएको हो । नौ महिना अगाडि विद्यार्थी भिषामार्फत दक्षिण कोरियामा अध्ययनका लागि जानुभएकी सिमा बानियाँलाई टिभि र पेटमा इन्फेक्सन भएको बताइएको छ । हालसम्म दक्षिण कोरियाको इन्छनमा रहेको २ ओटा अस्पतालमा उपचार गराउँदा १ करोड ४० लाख कोरियन वन खर्च भइसकेको दिदि इन्दु बानियाँले बताउनुयभो ।

अझै लामो समयसम्म उपचार गराउनुपर्ने भएको र रकमको अभाव हुँदा सहयोग सङ्कलन गरिएको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । दक्षिण कोरियामा रहेकी सिमा बानियाँको उपचारका लागि सहयोग गर्न चाहने व्यक्तिले उहाँको दिदि इन्दु बानियाँलाई ९८४५८१८७२६ मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने पनि श्रेष्ठले बताउनुभयो ।