हेटौंडाः मकवानपुरमा रहेका सहकारी संस्थाहरुमा तरलता व्यवस्थापन गर्न सरोकारवालाले प्रतिवद्धता व्यक्त गरेका छन् । प्रारम्भिक सहकारी संस्थाको सहजीकरणमा क्रियाशील जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको हेटौंडास्थित कार्यालय र राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाले आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
निषेधाज्ञा हटेर सर्वसाधारणको चहलपहल बढ्नुका साथै चाडपर्व नजिकिएसँगै सहकारीमा निक्षेप फिर्ता लिने क्रम बढेकाले सहकारी सञ्जालको समन्वयमा बुधबार मकवानपुरका विषयगत संघ, बचत संघ, राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको हेटौंडास्थित कार्यालयका प्रमुखहरुको उपस्थितिमा भएको अन्तरक्रियामा तरलता व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो ।
बागमती प्रदेशको सहकारी रजिष्टार विक्रम पाण्डेको उपस्थितिमा भएको कार्यक्रममा सहभागी विषयगत सहकारी संघका प्रतिनिधिले सहकारी संस्थाहरुमा तरलता व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रिप्रसाद लम्सालको पनि उपस्थिति रहेको थियो ।