लायन्स क्लबले हस्तान्तरण गरेका पुस्तकहरु ।

हेटौंडाः मनहरी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन वार्डका लागि लायन्स क्लब अफ सूर्योदय मनहरी र लियो क्लब अफ सूर्योदय मनहरीले १० थान पुस्तक सहयोग गरेको छ । कोरोना संक्रमित भई उपचाररत व्यक्तिहरुलाई आइसोलेसनमा रहँदा अध्ययन गर्न पुस्तक हस्तान्तरण गरिएको लायन्स क्लबले जनाएको छ ।

आज बिहान लायन्स क्लब अफ सूर्योदय मनहरीका अध्यक्ष सरोज मैनालीले मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई पुस्तक हस्तान्तरण गर्नुभएको छ । लायन्स क्लबले चन्द्रप्रकाश बानियाँको मदन पुरस्कार विजेता पुस्तक महारानीसहित जंगबहादुर, घनचक्कर, चीरहरण, नथिया, चाणक्य, मान्छेको रंग, मैदारो, देखेको देश, टार्गेट विन लादेन आइसोलेसनलाई हस्तान्तरण गरेको हो ।

केही दिनअघि मात्रै स्थापित लायन्स क्लबको पहिलो कार्यक्रमको रुपमा पुस्तक हस्तान्तरणको कार्यक्रम गरिएको क्लबका सल्लाहकार गोविन्द बर्तौलाले जानकारी दिनुभएको छ । पुस्तक हस्तान्तरण कार्यक्रममा मनहरी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष दिलबहादुर स्याङ्तान, ९ नम्बर वडा अध्यक्ष साधुराम अधिकारी, नेकपा मनहरी गाउँ कमिटीका सचिव हेमलाल उप्रेतीको पनि उपस्थिति रहेको थियो । पुस्तक हस्तान्तरण कार्यक्रम सिताराम अधिकारीको संयोजकत्वमा भएको हो ।