हेटौंडाः संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बागमती प्रदेश समन्वय समितिको आयोजनामा श्रम क्षेत्रमा विद्यमान समस्याका सन्दर्भमा त्रिपक्षीय अन्तरक्रिया भएको छ । कार्यक्रममा कोभिड–१९ का कारण श्रमिक तथा श्रम क्षेत्रमा पर्न गएको असर लकडाउन अवधिमा श्रमिकको पारिश्रमिक भुक्तानी र त्यसको समाधान सम्बन्धमा सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधि बीच अन्तरक्रिया भएको हो ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बागमती प्रदेश समन्वय समितिका संयोजक एवम् नेपाल ट्रेड युनियन कांग्रेसका बागमती प्रदेश अध्यक्ष घनश्याम चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्य रहेको थियो । जिफन्ट बागमती प्रदेशका सचिव अर्जुन अर्यालले सहजीकरण गर्नुभएको कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी, सन्तराम प्रजा, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उद्योग संघ मकवानपुर, श्रम कार्यालय हेटौंडाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा संयोजक घनश्याम चापागाईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संयोजक चापागाईले प्रस्तुत गर्नुभएको कार्यपत्र माथि अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुर उपाध्यक्ष रामशरण घिमिरे, नेपाल ट्रेड युनियन कांग्रेस वाग्मती प्रदेश उपाध्यक्ष कुमार पौडेल लगायतले टिप्पणी गर्नुभएको थियो ।