हेटौंडाः बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले भयानक किसिमको सरुवा रोग लाग्न नदिन सबै समयमै सचेत हुनुपर्ने बताउनुभयो । सोमबार विश्व रेबिज दिवसको अवसरमा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा भएको अन्तरक्रियामा बोल्दै उहाँले रेबिज जस्ता विभिन्न सरुवा रोगहरु निर्मूल गर्न चिकित्सा क्षेत्र र सरकार एक साथ लागी पर्ने बताउनुभयो ।
मन्त्री लामाले कुकुरको टोकाइबाट ९९ प्रतिशत रेबिज रोग सर्ने भएकोले कुकुरको व्यवस्थापन गर्ने कार्य मुख्य भएको बताउँदै अब स्थानीय तहसँग समन्वय गरेर कुकुरको व्यवस्थापन गरिने भन्दै जस्ले कुकुर पल्छ त्यसले कुकुरका लागि दिसा-पिसाब गर्ने व्यवस्था आफैं मिलाउनु पर्ने बताउनुभयो । कुकुर पालेर वातावरण र समाज दुर्गन्धित गर्नेलाई कार्वाही गर्ने नीति बनाउने भन्दै उहाँले रेबिज रोग लाग्न नदिन सबैले सबैलाई आ-आफूले जानेका कुरा सूसुचित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. मतिना वैद्य जोशीले रेबिज रोग निर्मूल गर्न पहिलो चरणमा पशु व्यवसायमा संलग्नहरुमा जनचेतना फैलाउनुपर्ने बताउनुभयो । यस रोगबाट बच्न सरकारले जनचेतनामुलक कार्यक्रमहरुमा जोड दिनु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले रेबिज रोग सर्न नदिन छाडा कुकुरलाई मार्दा धेरै ठाउँबाट आलोचना हुने भएकोले हेटौंडा उपमहानगरपालिकाले कुकुरको व्यवस्थापन गर्दै आएको जानकारी दिनुभयो । ३ दिन अगाडि हेटौंडा-१० मा रेबिज रोगका कारण एक जनाको मृत्यु भएको घटनालाई लक्षित गर्दै उहाँले रेबिज रोगले मानिसलाई एकदमै धेरै पीडा दिएर मार्ने हुनाले यो रोगलाई सामान्य रुपमा नलिन सबैलाई आग्रह गर्नुभयो । रेबिज जस्ता सबै किसिमका सरुवारोग नियन्त्रण गर्न उपमहानगरपालिकाले सक्दो प्रयास गर्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्षता गर्नुभएका पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. राम प्रकाश प्रधानले नेपालले सन् २०३० सम्ममा रेबिज रोग निर्मूल गर्न डब्लुएचओ, ओआइई, एफएओ र जिएआरसिको योजनामा हस्ताक्षर गरिसकेको बताउनुभयो । नेपालमा प्रत्येक वर्ष रेबिज रोगका कारण १ सय देखि २ सय मानिसको मृत्यु हुने जानकारी दिनुहुँदै रेबिज निर्मूल गर्न तीनै तहको सरकारले अहम् भूमिका खेल्नु पर्ने बताउनुभयो । विश्व रेबिज दिवस मनाउनुको मुख्य उद्देश्य रेबिज रोग निर्मूल गर्नु नै रहेको भन्दै रोग लागेपछि मृत्यु पक्का हुने प्राणघातक रोगबाट सबै सचेत रहनु पर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायण देवकोटा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पदाधिकारीहरु, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका पदाधिकारीहरु, कृषि तथा पशुपालन सम्बन्धी विभिन्न संघ संस्थाका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. राम प्रकाश प्रधानले रेबिज रोगबारे जानकारी गराउनुभएको थियो । उहाँले रेबिज रोगका बारेमा विश्वको अवस्था, नेपालको अवस्था, निर्मूल गर्नका लागि विश्वमा भइरहेको प्रयासहरु र बच्ने उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो ।