अर्चना दाहाल

वर्तमान परिवेशलाई नियाल्ने हो भने यतिखेर मानिस पैसाको कारण विवेकहीन अवस्थामा गुज्रिएको आभास हुन्छ । मानिसहरू अहिले सबै कुरालाई बिर्सेर सधैं पैसाको पछि दगुरिरहेका छन् र त्यसकै कारण तिनीहरू पलपल पश्चातापले छट्पटाई रहेका पनि छन् । त्यही पैसा जसले एउटै परिवारमा कलह बढाउँछ, द्वन्द्व निम्त्याउँछ, विवेकशीललाई विवेकहीन गराउँछ र पनि मानिस यसैको पछि लागिरहन्छ । आफन्तलाई पराइ, मित्रलाई शत्रु, स्वच्छ मनलाई दूषित, शान्त परिवारमा वैमनस्य बढाउने जस्ता काम यही पैसाको कारणले गर्दा भएको हुन्छ र पनि मान्छे बुझ्दैन वा बुझ पचाइरहेको छ ।

एउटी आमाबाट जन्मिएका सन्तान जो अबोध बालक छँदा सँगसँगै हुर्किए, खेले, पढे, बढे । यतिसम्म कि एउटै थालमा खाएर हुर्किए । तिनै अबोध बालक बालिग भए, बिस्तारै उनीहरूमा फरक–फरक क्षमताको विकास हुन थाल्यो । कोही ज्ञानमा अब्बल भए, कोही बुद्धिमा सफल भए त कोही धनले मजबुत भए । समय प्रक्रिया अनुसार विवाह गरी घर गृहस्थमा लागेका उनीहरू आफ्नो क्षमता अनुसार त कतिपय श्रीमतीको चाहना अनुसारको बाटोमा आफूलाई डोर्‍याउन थाले । जो जुन क्षमताको पकड छ त्यसले सोही अनुसारलाई महत्व दिने नै भयो । ज्ञानवान् र बुद्धिमानको केही बढी मेल हुने भयो तर धनलाई बढावा दिने धनवानसँग धेरै कुरा मिल्न गाह्रो पर्दै जान थाल्छ अनि उनीहरू बाध्य भएर एक आपसबाट टाढिँदै जान्छन् । भनाइ पनि छ नि, सरस्वती र लक्ष्मी एकै ठाउँमा बस्दैनन् भनेर होइन र ?

सोच, समझ र चाहना फरक भएपछि, मानिसका हर कुराहरू फरक हुँदै जान्छन् र उनीहरूसँगै जीवन बिताउन आएकाहरूले पनि उनीहरूलाई आफू अनुसारको बाटो हिँड्न बाध्य गराउन थाल्छन् । उसले बिस्तारै परिवारप्रति पूर्वाग्रही बन्दै र साना मसिना कुरामा परिवारमा खटपट शुरू गर्दै गइरहेको हुन्छ । परिवर्तन आफ्नै सन्तान हुन्छन् तर बढी दोष चाहीँ महिलाले पाउने गर्छन् । यसको आशय महिलाको गल्ती नै हुन्न भन्ने चाहीँ होइन । एउटा घरलाई स्वर्ग र नर्क बनाउने र परिवारका सबै सदस्यहरूसँग सहकार्य गराउँदै परिवारमा मतभेद आउन नदिने बढी जिम्मेवारी महिलाकै हुने कुरा भने नकार्न सकिन्न । यदि बुद्धिजीवी पुरुष छ भने त उसले जसरी पनि पारिवारिक एकता कायम राख्न पहल गर्छ तर कतिपय पुरुषले अन्धाधुन्ध महिलाको समर्थन गरेकै कारण आफू बुद्धिजीवी हुँदाहुँदै पनि एउटा सुन्दर परिवारमा डँढेलो लागेका उदाहरण कयौं छन् । जुन पुरुषले सत्यताको खोजी गर्छ, अनावश्यक कसैलाई खुशी तुल्याउनकै लागि असत्यको पक्षमा लाग्दैन ।

उसले अरुका कमजोरीमा मौन बसेर पारिवारिक एकताका लागि बुद्धिमता किसिमले समस्या सुल्झाउँछ भने त्यो परिवार सदाका लागि उदाहरणीय बनिरहेको हुन्छ । सही निर्णय गर्ने क्षमता नहुँदा कतिपय पुरुषहरू श्रीमतीको अधिनमा हुन्छन् र उनीहरूको नजरमा दुनियाँमा श्रीमती बाहेक कोही देख्दैन र श्रीमतीको कमजोरी कसै गरी औँल्याउन नसकी गल्तीलाई ढाकछोप गरिरहन्छ जसले गर्दा परिवारमा विवाद मच्चिरहेको हुन्छ । उसका लागि जन्मदिने बुबा आमा, एउटै कोखका दाजुभाइ दिदीबहिनी सबै पराई हुँदै जान्छन् । उसको सोच नै मैले श्रीमतीलाई सर्वोच्च स्थान दिनुपर्छ यदि उनमा खटपट आयो भने मेरो जीवन बर्बाद हुन्छ अनि जन्मदिने बुबा आमाभन्दा नजिक भएका मायालु सासूआमा र ससुरा बा पनि टाढिन्छन् । अनि त मेरो सर्वस्व जान्छ भन्ने निकृष्ट सोच बनिसकेको हुन्छ किनकि यतिखेर ऊ एकाङ्की र धनकै मदालसमा चुर्लुम्म डुबी सकेको हुन्छ ।

अब उसका लागि अन्तिम उपाय भनेको नै अंश लिएर परिवारबाट छुटिनु नै प्रमुख देखिन्छ । अंश लगाउँदा पनि उसले धनलाई नै संसार देखेको भएर आफूले कसरी प्रशस्त सम्पत्ति पाउने भन्ने सपना मात्रै देखेको हुन्छ । अंश लगाउँदा आफूले भने अनुकूल भएन भने दाजुभाइमा पनि पानी बाराबारको स्थिति आउन सक्छ । त्यही पैसाको निहुँमा बाबुआमा बितेर सँगै किरिया बस्दा पनि सकेसम्म पूर्व–पश्चिम फर्केर बस्नुपर्ने नभए किरियाभित्रै पिटापिटको अवस्था पनि नआउला भन्न सकिन्न । भाइ फुटे गँवार लुटे भन्ने बुढापाकाको उखान चरितार्थ हुन पुग्छ । सबैले उनीहरूमा अनेक कुरा कान भर्ने काम गर्ने थाल्छन् । फलस्वरूप उनीहरूलाई एक आपसमा देखिन मन लाग्दैन । एउटाले बोलेको अर्कोलाई सुन्न मन लाग्दैन । एउटाले हिँडेको बाटो अर्कोलाई हिँड्न मन लाग्दैन । सम्पूर्ण व्यवहार शत्रुवत हुन्छन् अनि बाघको मुख हेर्न परे बिरालोको मुख हेर्नु र शत्रुको मुख हेर्न परे दाजुभाइको मुख हेर्नु भन्ने भनाइ ठ्याक्कै मिल्न जान्छ ।

आजको स्वार्थ समाजले मानिसलाई दिन प्रतिदिन दुष्कर्म गर्ने चेष्टा बढाइरहेको छ । यहाँ पैसावालले नै जसरी पनि महत्व पाउने कारणले मानिस धनी बन्नका लागि जसरी पनि कमाऊ अभियानमा लाग्न चाहान्छ । अहिलेको समाज यस्तो अवस्थाबाट गुज्रिएको छ कि, यहाँ राम्रो जागिर, पद र पायक पर्ने कार्यालय धनीले पाउँछ । जागिरमा पहिलो प्रमोशन उही धनीकै हुन्छ । सामाजिक कार्यक्रम विवाह, भोज, पाटीमा पहिलो निमन्त्रणा धनीलाई हुन्छ । नातागोता र टाठाबाठाहरूको घनिष्ट सम्बन्ध उही धनीसँग नै बढी निकट हुन्छ । यसरी हरेक क्षेत्रमा पैसावालकै पहुँच देखिएपछि मानिस धनी बन्न जस्तोसुकै दुई नम्बरी काम गर्न पनि उद्दत हुन्छ । सोझो जागिरले धनी बन्न कठिन हुन्छ अनि ऊ धनी बन्न भ्रष्टाचार, हत्या, हिंसा र कालो बजार जस्ता कामहरू गर्न उद्भत बन्न थाल्छ ।

बिस्तारै मानिसमा स्वविवेक हराउँदै जान्छ र उसले आफूलाई निम्न स्थरका नातागोता र साथीहरूबाट क्रमशः टाढा गर्दै जान्छ । धनको मोहले अन्धो बन्दै गएको उसले आफ्नो अवस्था नियाल्ने प्रयास कहिल्यै गर्दैन र सोचेको हुँदैन कि मैले हिँडेको बाटो कति असल छ र मेरो व्यवहारले कतिपयलाई दुःखी बनाएको होला किनकि उसको नजरमा नितान्त श्रीमती र पैसा मात्रै सर्वेसर्वा भइसकेको हुन्छ । यसरी कमाएको धनले उसलाई आत्म सन्तोष मिलेको होला त ? यसरी नङ र मासुको जस्तो सम्बन्ध भएका दाजुभाइलाई शत्रुवत् अवस्थामा पुर्‍याउने यो पैसा कति तुच्छ वस्तु हो त्यो अब भनिरहन पर्दैन । पैसा यस्तो चिज हो जसले हत्या, हिंसा बढाउँछ । भ्रष्टाचारमा प्रोत्साहन गराउँछ । नियम कानुन बिर्साउँछ, पापकर्म बढाउछ । बुबा आमा भन्दैन, नातागोता सम्झिदैन । सत्यतामा पर्दा लगाउँछ । पाइला पाइलामा अहम् बढाउँछ । त्यसो भए पैसा भएर मानिस सुखी होला त।यो पनि कल्पना गर्न सकिन्न । जहाँ जसरी परिचालन गरे पनि मनमा शान्ति नहुने पैसाको अर्थ के त ? कोही दुःखमा पर्‍यो पहिले उसलाई पैसा होइन आफन्तको खाँचो पर्छ । पैसा करोडौं छ तर सबैसँगको सम्बन्ध रुष्ट छ भने त्यसले के सन्तोष दियो त ?

यसको आशय मिहिनेत नै नगरौं र सञ्चित नै नगरौं भन्ने बिल्कुलै होइन तर इमानदारीपूर्वक गरेको मिहिनेतको कमाइले मात्रै सन्तोष मिल्न सक्छ । सन्तोषम् परम सुखी’ । मनमा सधैं पीडा, उत्कण्ठा, लोभ लालच र डाहले डेरा जमाइरहेको छ भने त्यस्तो धनको कुनै अर्थ रहन्न । भनिन्छ नि होइन, कात्रोमा गोजी हुँदैन, त्यसैले जस्तो आएको त्यस्तै जानुपर्ने भए पछि जति बाँचिन्छ सुखले बाँचौँ । यो नै जीवनको सार्थक हो पैसाको मोहमा डुब्नेहरू विवेकशून्य हुन्छन् उनीहरूले कहिले सोँच्दैनन कि कुनै दिन म पनि अशक्त हुन सक्छु, मलाई पनि दैवीप्रकोप पर्न सक्छ । कुनै दिन यिनै परिवारका सदस्य र आफन्त चाहिने दिन आउन सक्छ यस्ता कुरा सबैले मनन गरौँ । धनभन्दा ठूलो परम आनन्द दिने चिज सन्तोष हो । मनमा सन्तोष छैन भने त्यो धनको अर्थ रहन्न । त्यसैले धन भएर छट्पटीमा बाँच्नु भन्दा रुख्खासुख्खा खाएर आनन्दले बाँच्नु नै जीवनको वास्तविक बचाइ हो । जीवन बचाइको सहज उपाय अवलम्बनतर्फ लाग्नुपर्छ । त्यसैले नाता सम्बन्धभन्दा पैसा कहिले ठूलो हुन सक्तैन ।

ब्रह्मदिक एकेडेमी, हेटौंडा–४, कमलडाँडा