हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले स्थानीय तहमा कार्यकर्ता बैठक सुरु गरेको छ । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा कार्यकर्ता बैठक सम्पन्न गरेसँगै अब हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा कार्यकर्ता बैठक बस्ने राप्रपा हेटौंडा उपमहानगर समितिका अध्यक्ष गुरुप्रसाद सापकोटाले बताउनुभयो ।

राप्रपा मकवानपुरका जिल्ला अध्यक्ष मधु अधिकारीको प्रमुख आतिथ्यमा ७ नम्बर वडाका कार्यकर्ता बैठक भएको हो । बैठकमा राप्रपा युवा संगठनका केन्द्रिय उपाध्यक्ष दामोदर वाग्ले, युवा संगठन नगर अध्यक्ष भृगु कार्की लगायतको उपस्थिती रहेको थियो । बैठकमा अहिलेको कोभिड–१९ को विषम् परिस्थितीका बारेमा जानकारी गराइएको थियो ।

कार्यकर्ता भेला गर्न सम्भव नभएको हुँदा कार्यकर्ता बैठक बसेर कोरोनाको अवस्था, संगठन निर्माण, राष्ट्र निर्माणका लागि राप्रपाको भूमिका बारेमा छलफल भएको नगर अध्यक्ष सापकोटाले बताउनुभयो । पार्टी एकीकरण पश्चात अब हरेक टोल–टोलमा राप्रपा पुग्ने उहाँले बताउनुभयो । आगामी शनिबार युवा संगठन र महिला संगठनको संयूक्त बैठक बस्ने तयारी भएको उहाँले बताउनुभयो ।