डिभिजन वन कार्यालयले बरामद गरेको काठ ।


हेटौंडाः डिभिजन वन कार्यालय मकवानपुरले हेटौंडा–१६, हटियाबाट अवैध काठसहित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षलाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय मकवानपुरको सुरक्षा टोली र सव डिभिजन वन कार्यालय हर्नामाडीका वन अधिकारीको समूहले शनिबार दिउँसो १ बजेको समयमा ४०.१२ क्यूफीट काठसहित हेटौंडा–१६ स्थित शक्तेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चीनबहादुर थिङसहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका वन समूहका अध्यक्ष ।

सामुदायिक वनका पदाधिकारीहरुकै मिलेमतोमा वन फँडानी भइरहेको भन्ने सूचनाका आधारमा सशस्त्र वनरक्षकसहितको टोली हटिया पुगेको थियो । वनको टोलीले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चीनबहादुर थिङसँगै स्थानीय नरेन्द्र दोङ, देव थिङ र ज्ञानबहादुर वाईबालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चारै जनालाई हेटौंडा–१० स्थित डिभिजन वन कार्यालयको हिरासत कक्षमा राखिएको डिभिजन वन कार्यालय मकवानपुरका सुरक्षा प्रमुख यादवेन्द्र पौडेलले जानकारी दिनुभएको छ । स्थानीय हरेराम मगरको घरमा लुकाएर राखेको ४०.१२ क्यूफिट काठसहित जुइना खोला भन्ने स्थानबाट ४ जनालाई नियन्त्रणमा लिइएको सव डिभिजन वन कार्यालय हर्नामाडीका वन अधिकृत दीपक पुडासैनीले बताउनुभयो ।