हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–मनहरी सडकखण्डको खरंगामा आज दिउँसो मोटरसाइकल र ट्रक आपसमा ठोक्किएर दुर्घटना हुँदा बारा जिल्लाको रतनपुर–२ का सूर्य स्याङ्तानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाका अनुसार मोटरसाइकल चालक ३० वर्षीय स्याङ्तानको मृत्यु भएको छ भने मोटरसाइकलमै सवार १८ वर्षीया बिनिता स्याङ्तान गम्भीर घाइते छिन् । बिनिताको हेटौंडा–११, थानाभर्‍याङस्थित चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ ।

हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प ७२ नम्बरको मोटरसाइकल र मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ४६५२ नम्बरको ट्रक दिउँसो साढे ४ बजेको समयमा आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभएको छ । दुर्घटनाग्रस्त ट्रक र मोटरसाइकल तथा ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।