हेटौंडाः हेटौंडा–१६ हटियास्थित जनप्रिय माविमा ग्लोकल टिन हिरो अनलाइन कार्यक्रम भएको छ । बिहीबार सम्पन्न उक्त कार्यक्रममा ग्लोकल प्रालिको तर्फबाट कार्यक्रम अधिकृत सरु प्याकुरेलले सहजीकरण गर्नु भएको थियो ।
किशोर किशोरीको क्षेत्रमा काम गर्दै आइरहेको ग्लोकल प्रालिसँग सहकार्य गरी मावि तहमा अध्ययनरत किशोरावस्थाका विद्यार्थीहरुलाई जीवनमा आफ्ना लागि आफैं मार्गनिर्देशित गर्ने, व्यक्तित्व विकासका लागि गर्नुपर्ने कार्य, समाजप्रति विद्यार्थीको दायित्व, ग्लोकल टिन हिरो २०२० को सञ्चालनका विषयमा प्याकुरेलले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरु सुप्रिया दाहाल, वर्षा मगर, मेनुका चौलागाईंले जिज्ञासा राखेका थिए । ग्लोकल प्रालिले अन्तरक्रियामा सक्रिय सहभागी हुने विद्यार्थीद्वय वर्षा मगर र सुप्रिया दाहाललाई क्रमशः १ अनलाइन कोर्ष र १०० रुपैयाँको रिचार्जसहित पुरस्कृत गरेको थियो । विद्यालयका अंग्रेजी माध्यम संयोजक कैलाश धितालले विद्यार्थीको सर्वांगिण विकासमा सहयोग पुर्याउन र किशोरावस्थाका विद्यार्थीलाई सही मार्गनिर्देश गर्न यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन भइरहने बताउनु भयो ।
प्राविधिक सहयोग गर्नु हुने शिक्षक रबिन श्रेष्ठले सामुदायिक विद्यालयको स्तर माथि उठाउन शिक्षक आफैंले यस्ता कार्यमा आबद्ध भई सहजीकरण गर्नुपर्ने बताउनु भयो । भर्चुअल माध्यमबाट करिब २ घण्टाको अन्तरक्रियामा ४० जना विद्यार्थी सहभागी थिए ।