हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा प्रशासनिक कार्यका लागि विद्यालय खुलेका छन् । गाउँपालिकामा रहेका सामुदायिक ३९ विद्यालय मध्ये प्रायः विद्यालय खुलेको गाउँपालिकाले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिकामा अध्ययनरत अधिकांश विद्यार्थीहरु सबै किसिमको प्रविधिको पहुँच बाहिर रहेको समूह अन्तर्गत पर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम बहादुर घलानले बताउनुभयो । विद्यार्थी सिकाई सहजीकरणका लागि विद्यालयममा आवश्यक सुरक्षाको मापदण्ड पूर्ण परिपालन गरी विद्यालयमा सिकाई केन्द्रहरुको व्यवस्था गरी विद्यालय खुलाइएको उहाँले बताउनुभएको छ ।
नियमित पठनपाठनको कार्य सुचारु गर्न विद्यालय खुलाइएको भ्रममा नपर्न गाउँपालिकाले अनुरोध गरेको छ । त्यस्तै अन्य किसिमको प्रविधिको प्रयोग गर्न अनुकुल हुने विद्यालयले सोहि अनुसारको व्यवस्थापन गर्न पनि गाउँपालिकाले सूचना जारी गरेको छ । गाउँपालिकामा प्रावि तहका २३, निमावि तहका ७ र मावि तहका ९ गरी जम्मा ३९ सामुदायिक विद्यालय रहेका छन् । यस्तै विद्यालयमा सञ्चालित ५४ वटा बालविकास केन्द्र पनि रहेका छन् ।