संघीय नेपालअन्तर्गत बागमती प्रदेशको प्रथम आम निर्वाचनमा वर्तमान मुख्यमन्त्री डोरमणि पौडेलको प्रतिस्पर्धीको रुपमा मकवानपुरबाट निर्वाचनमा सहभागी हुनुभएका अशोक शाक्य नेपाली कांग्रेसका पुराना राजनीतिकर्मीको रुपमा हुनुहुन्छ । नयाँ परिकल्पनाका साथ संघीय संरचना स्थापित हुने क्रममै छ । निर्वाचनका बेला निर्वाचनपछि को के हुने भन्ने निश्चित थिएन । तर, निर्वाचनपछि प्रतिस्पर्धी उम्मेद्वार मुख्यमन्त्री भएको भन्ने आधारमा अशोक शाक्यको चर्चा हुने गरेको छ । मुख्यमन्त्रीका प्रतिस्पर्धी अशोक शाक्यसँग प्रदेश सरकारको कामलाई कसरी हेरिरहनुभएको छ भनी समाज सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानीः
समाजः बागमती प्रदेश सरकारले जसरी काम गरिराखेको छ ? यसमा तपाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नेता हुनुका साथै मुख्यमन्त्रीसँगै निर्वाचनमा प्रतिस्पर्धी हुनुभएको हिसाबले प्रदेश सरकारको कामलाई कसरी हेरिराख्नु भएको छ ?
शाक्यः जुन ढङ्गबाट संविधान निर्माण भएपछि केन्द्र, प्रदेश र स्थानीय सरकारको भूमिका र जिम्मेवारी थियो, त्यो अनुसार अहिले प्रदेशको भूमिका छिटफुट बजेटहरु छर्ने काम, विकास निर्माण अलिअलि गर्ने बाहेक केही पनि प्रभावकारी देखिएको छैन । मुख्य कुरा भनेको प्रदेशले जुन अधिकार सम्पन्न भएर प्रदेशमा ऐनहरु निर्माण गर्नुपर्ने, विकास निर्माण कामहरु गर्नुपर्ने हो, अहिले जुन किसिमको कोरोनाको महामारी छ त्यसमा प्रदेश सरकारले मुख्य भूमिका खेल्नु पर्ने हो त्यो भूमिका देखाउन सकेको छैन । मन्त्रालयस्तरबाट बजेट खर्च गरेर विकासको नाममा सहभागी भएको जस्तो मात्र देखिएको छ । गठन भएअनुसार प्रदेश सरकार अधिकार सम्पन्न भएर काम गर्न सकेको छैन ।
समाजः प्रदेश सरकारले कानुन निर्माणको काम गरिनै राखेको छ । प्रदेश पनि एक हिसाबले स्थापित नै भइसकेको छ । कोरोना कै कारणले काम गर्न सकिएन भन्ने भनाइ आइराखेको देखिन्छ । यो हिसाबले चाही प्रदेश सरकारले गर्न खोज्दाखोज्दै कोरोना भाइरस बाधक भयो भन्ने छ नि ?
शाक्यः कोरोना आएको ६/७ महिना भइसकेको छ । यो बीचमा धेरै कामहरु गर्नुपर्ने अवस्था थियो । त्यतातिर ध्यान पुर्याएको जस्तो लागेको छैन । आईसोलेशन व्यवस्थापनदेखि अस्पतालको क्षमता वृद्धि गर्ने, अस्पतालको विकास गर्ने थुप्रो अवसर थियो । यसलाई प्रदेश सरकारले सदुपयोग गर्न सकेन ।
समाजः प्रदेश सरकारको धेरै कुराप्रति असन्तुष्टि व्यक्त गर्नुभयो, प्रभावकारी काम भएको छैन भन्नुभयो । प्रतिपक्षी दलमा रहेर पनि प्रदेश सरकारका केही प्रशंसा गर्न लायक काम के भयो जस्तो लाग्छ ?
शाक्यः एउटा मकवानपुरवासी भएको हैसियतले प्रदेशको राजधानी हेटौंडा तोकिनु खुसीको कुरा हो । सर्वसम्मत राजधानी र नामाकरणको काम टुंग्याउनु प्रदेश सरकारको उपलब्धीमूलक काम हो । केही कानुनहरु निर्माण गरेका छन् तर कार्यान्वयन तहमा अहिलेसम्म पनि लैजान सकेको छैन । त्यो कार्यान्वयन तहसम्म नलगेसम्म सफल भन्ने अवस्था आउँदैन । केही गर्न खोजे जस्तो देखिए पनि केन्द्रको धेरै थिचोमिचोमा परेको देखिन्छ । केन्द्र सरकारसँग लड्ने क्षमता प्रदेश सरकारसँग भएन । हाम्रो अधिकार हामीलाई देउ भन्ने स्थिति पनि भएन ।
समाजः प्रमुख प्रतिपक्षी दलको रुपमा नेपाली कांग्रेसले सरकारको कामको निगरानी गर्नुपर्ने जुन खालको भूमिका रहन्थ्यो । त्यो भूमिकाका विषयमा तपाईहरुले कसरी मुल्याङ्कन गर्नुभएको छ ?
शाक्यः सरकार यस्तो एकलौटी ढङ्गले चलिराखेको छ । आफ्नै पार्टीको कुरा सुनिराखेको छैन । आफ्नै पार्टी अध्यक्षको कुरा नसुनेर पार्टीभित्र खैलाबैला मचिरहेको छ । प्रतिपक्षीले हरेक कुरामा आवाज उठाइराखेको छ । कोरोना विषयमा पनि धेरै कुराहरु प्रतिपक्षीले आवाज उठाइराखेको हो । तर सरकारले सुनिराखेको छैन । आफ्नै पार्टीको कुराहरु नसुनिराखेको कारणले गर्दाखेरी प्रतिपक्षीको भूमिका अलि कमजोर भएको जस्तो देखिन्छ ।
समाजः प्रमुख प्रतिपक्षी दलको नेता ईन्द्रबहादुर बानियाँ हुनुहुन्छ । उहाँको र मुख्यमन्त्रीको आपसी सहमति र सहकार्य जस्तो देखिन्छ । सत्तारुढ दलप्रति प्रतिपक्षी दलको नेताको भूमिका प्रभावकारी भएन भन्ने गुनासो सुनिन्छ नि ?
शाक्यः मुख्यमन्त्री र प्रतिपक्षी दलको नेता पनि मकवानपुर जिल्लाकै भएको कारणले धेरै कुराहरु अब राजधानी तोक्नेदेखि नामाकरणदेखि लिएर विकास योजनामा उहाँहरुको सहभागिता स्वभाविक हुने नै भयो । एकै ठाउँको भएको कारणले अब यहीँको मुख्यमन्त्री भएको कारणले अलि विरोध पनि कम भएको होला । तर धेरै कुरामा जनताले आवाज उठाउने जनताको हकहितमा आवाज उठाउने कुरामा चाहीँ हाम्रो सभापति तथा प्रतिपक्षी दलको नेताले सदनदेखि पत्रिकामार्फत, विभिन्न सञ्चार माध्यममा पनि कुराहरु राखिराख्नु भएको छ । त्यो सुनुवाई कति भएको छ, कति भएको छैन भन्ने कुरा भोलिका दिनमा मूल्याङ्कन होला ।
समाजः प्रदेश सरकारको जति समय बाँकी छ यो अवधिमा चाही के कुरामा ध्यान दिएर काम गर्न सक्यो भन्ने प्रदेशका जनताले केही उपलब्धी हासिल गर्ने देख्नुहुन्छ ?
शाक्यः सबैभन्दा प्रमुख कुरा प्रदेशका ऐन कानुन नै हो । यो ऐन कानुनलाई निर्माण गरेर कार्यान्वयन तहमा लाग्नु पर्यो । समष्टिगत रुपमा विकास योजनाहरु जहाँ आवश्यक छ, त्यो आवश्यकता परिपूर्ति गर्ने किसिमको विकास योजनाहरु पनि प्राथमिकता पार्नु पर्यो । अहिले जुन कोरोनाको महामारी छ । त्यो महामारी अहिले एउटा अवसर पनि हो । अन्य क्षेत्र बजेटहरु एउटा स्वास्थ्य क्षेत्रमा खर्च गरेर यो कोरोनासँग जित्ने र नेपाली जनताको स्वास्थ्य सुधार गर्ने । त्यो दिशामा अगाडि बढ्यो भने राम्रो होला भन्ने विश्वास लागेको छ ।
समाजः बाँकीको अवधिमा प्रतिपक्षी दलको भूमिका पनि कस्तो रहनु पर्छ जस्तो लाग्छ ?
शाक्यः प्रतिपक्षीको हिजोको परिभाषा अनुसार जुलुस, ढुंगा मुढा गरेर हिँड्नुपर्ने अवस्था हो । तर, अब कोरोनाले गर्दा त्यो अवस्था पनि छैन । जस्तो नेपाली कांग्रेस जुन जिम्मेवार पार्टीले त्यस्तो काम पनि गर्न मिलेन । त्यसैले पनि प्रतिपक्षी नभएको हो कि भन्ने कुरा गरिराखेका छन् । तर हामीले प्रतिपक्षी दलको हिसाबले जुन मुद्दाहरु उठान गर्नुपर्ने, सरकारलाई सजग गर्नुपर्ने कुरामा हाम्रो पार्टीले निरन्तर आवाज उठाइराखेको छ । प्रतिपक्षी दलको हिसाबले हामी आफैले आवाज उठाइराखेका छौं । हाम्रो पार्टीले सरकारको ध्यानाकर्षण गरिराखेको नै छ ।
समाजः आगामी दिनमा प्रतिपक्षी दलले कसरी जान्छ होला ?
शाक्यः प्रतिपक्षी दलले जुन जनताको समस्या छ । देश जुन विकाराल स्थितिमा छ । कोरोनाले गर्दाखेरी जनता पनि भयावह स्थितिमा छ । आर्थिक रुपमा थलथलिएको अवस्थामा पुगिसकेको छ । यसमा प्रतिपक्षी दलले देशलाई बचाउने, जनतालाई बचाउने र सँगसँगै आफ्नो आवाज पनि आफ्नो संगठनलाई मजबुत गर्दै जाने स्थिति देखेको छु ।